#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1219698055277145504447093765
नेपाल165313586057891

परराष्ट्र मामिला विज्ञ क्वात्रा नेपालका लागि नयाँ भारतीय राजदूत

  • प्रकाश लुईंटेल

काठमाडौं । भारतले परराष्ट्र मामिलामा तीन दशकभन्दा लामो अनुभव संगालेका विनय मोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने भएको छ । सन् २०१७ को मे देखि फ्रान्सका लागि भारतीय राजदूतको रूपमा कार्यरत क्वात्राले चाँडै नै नेपाल आएर राजदूतको जिम्मेवारी सम्हाल्ने छन् । नेपालमा अमेरिका र चीनको बढ्दो चासोलाई मध्यनजर गर्दै भारतले ती दुवै देशको कुटनीतिक मामलामा विज्ञ मानिने क्वात्रालाई नेपालका लागि राजदूत छनौट गरेको हो ।

सन् १९८८ देखि विदेश मामला सम्बन्धी कार्य शुरु गरेका उनीसँग नेपालमा बसेर काम गरेको अनुभव पनि छ । सन् २००६ देखि २०१० सम्म नेपालस्थित सार्क सचिवालयमा भारतको प्रतिनिधित्व गर्दै उनले ब्यापार, अर्थतन्त्र र वित्तिय विभाग (ट्रेड, ईकोनोमी एण्ड फाईनान्स् ब्युरो) प्रमुखको रुपमा काम गरेका थिए । नेपालका लागि सम्भावित राजदूतको रुपमा चर्चामा रहेका टी एस त्रिमूर्ति, गोपाल वाग्ले, जावेद अशरफ, अखिलेश मिश्रा, विकास स्वरुप लगायतलाई उछिन्दै क्वात्रा नयाँ राजदूत नियुक्त भएका हुन् ।

सन् २०१७ मार्च २५ देखि नेपालका लागि भारतीय राजदूत रहेका मञ्जिव सिंह पुरी आफ्नो कार्यकाल पुरा गरी गत महिना स्वदेश फर्केका थिए । नेपालका लागि अधिकांस भारतिय राजदूतहरु विवादमा तानिएका छन् । तर गत महिना बिदा भएका राजदूत पुरीको कार्यकाल असंख्य चुनौतीका बावजुद् निकै सौहार्दपूर्ण रह्यो । भारतको एक महिना लामो नाकाबन्दीको अवस्थापछि राजदूत बनेका पुरीले नेपाल भारतवीच सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान गरेका थिए ।

नेपाल भारतवीच रहेको उतार चढावयुक्त राजनितिक सम्बन्धका कारण पनि नेपालका लागि भारतीय राजदूतको नियुक्तिलाई चासोका साथ हेर्ने गरिएको छ । अमेरिकापछि सबैभन्दा ठूलो मानिएको काठमाडौं स्थिति आफ्नो दुतावासलाई भारतले निकै प्राथमिकतामा राख्ने गरेको छ । त्यसमाथी अमेरिका र चीनको नेपालमा बढ्दो रुचीका बीच भारतलाई आफ्नो प्रभाव कायम राख्ने चुनौती बढेका कारण पनि भारतका लागि नयाँ राजदूतको छनौट चुनौतीपूर्ण थियो । अन्ततः पुरी स्वेदश फर्केको झण्डै एक महिनापछि नयाँ दिल्ली नेपालका लागि नयाँ राजदूतको रुपमा क्वात्राको नाम छनौट गर्न सफल भयो । नेपालमा पछिल्लो समय देखिएको अमेरिका र चीनको बढ्दो रुची, चीनसँगको नेपालको सम्बन्ध मात्र होइन भारत र नेपालवीच पछिल्लो समय चर्किएको सीमा विवादको मुद्दा पनि क्वात्राका लागि थप चुनौतीपूर्ण रहनेछ ।

संयुक्त राष्ट्र संघका विभिन्न एजेन्सीमा काम गर्नुका अतिरिक्त क्वात्राले अमेरिका र चीनस्थित भारतिय कुटनितिक मिसनमा काम गरिसकेका छन् । राष्ट्र संघमा काम गर्ने क्रममा उनले जेनेभामा रहेको ग्राजुएट स्कुल अफ इन्टरनेसनल स्टडिज्बाट अन्तराष्ट्रिय सम्बन्धमा स्नातक पनि गरेका छन् । सन् २००३ देखि २००६ सम्म उनले चीनको बेइजिङ्स्थित भारतिय दुतावासमा काउन्सेलर तथा मिसन उपप्रमुखको रुपमा काम गरेका थिए । त्यसैगरी उनले सन् २०१० देखि २०१३ सम्म अमेरिकास्थित भारतीय दुतावासमा काम गरे । अमेरिकामा भारतीय कुटनितिक मिसनको कामपछि क्वात्राले सन् २०१३ जुलाईदेखि २०१५ को अक्टोबरसम्म भारतिय विदेश मन्त्रालयको निति निर्माण तथा अनुसन्धान विभाग (पोलीसी प्लानिङ एण्ड रिसर्च डिभिजन) को नेतृत्व गरेका थिए । सोही कार्यकालको उत्तरार्धमा उनले अमेरिकाज डिभिजनको प्रमुख भएर काम गरे जहाँ उनले अमेरिका र क्यानाडासँगको भारतीय सम्बन्धलाई नजिकबाट हेरेका थिए । फ्रान्सका लागि राजदुतको जिम्मेवारी सम्हाल्नु अघि क्वात्राले झण्डै २ बर्ष भारतिय प्रधानमन्त्रीको कार्यालयमा सहसचिवको रुपमा काम गरे । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले क्वात्राको ३२ बर्षे परराष्ट्र अनुभव, नेपाल सम्बन्धि बुझाई, अमेरिका र चीनमा उनले विस्तार गरेको सम्बन्ध, निति निर्माणमा उनको विज्ञता लगायतका आधारमा उनलाई नेपालका लागि उपयुक्त ठह¥याएको संचारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित समाचारहरु