‘प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय हिसाबमा उपलब्धिविहीन’ -लालबाबु पण्डित

‘प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय हिसाबमा उपलब्धिविहीन’ -लालबाबु पण्डित


नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रधानमन्त्रीको भारत भ्रमण व्यक्तिगत रुपमा गौरव लागेपनि राष्ट्रिय हिसाबमा कुनै उपलब्धि नभएको बताएका छन् ।

एमाले निकट युवासंघले नागरिकता विधेयक विरुद्ध गरेको प्रदर्शनमा नेता पण्डितले खुद्रा विषयवस्तुलाई उठाएर देशको लागि कुनैपनि उपलब्धि हासिल नभएको बताएका हुन् ।  उनले भने, ‘खुद्रा विषयवस्तुलाई उठाएर जुन उपलब्धि भयो भन्नु भएको छ । व्यक्तिगत रुपमा उहाँको भ्रमण गौरव लाग्न सक्छ तर राष्ट्रिय हिसाबमा राष्ट्रको समस्या समाधान हुने कुनै कुरा नभएको हुनाले हाम्रो आपत्ति छ ।’ 

नेता पण्डितले भारतको संसद भवनमा अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएको विषयमा पनि प्रधानमन्त्री केही नबोलेको भन्दै आपत्ति जनाए । उनले भने, सीमा समस्या, कालापानी, लिपुलेकलगायतका विषय उठाउनु पर्ने राष्ट्रिय मुद्दा उठाएको छैन, भारतको संसद भवनमा अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएको छ त्यसको बारेमा केही बोल्नु भएन ।’ 

पूर्वमन्त्री समेत रहेका पण्डितले पूर्वराष्ट्रपतिले सुझावसहित फिर्ता पठाएको विधेयक नयाँ चुनावपश्चात संसदलाई जानकारी नगरी नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणित गर्ने काम राष्ट्रपक्ष नभएको बताए । 

Logo