नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न साधारण सभामा करिब ९२ प्रतिशत शेयरधनीको उपस्थिति थियो । उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको जनाइएको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७६/७७ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाश जंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले साधारणसभामा उपस्थित शेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको बाह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै उनले शेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुनेगरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिको लागि सञ्चालक समिति क्रियाशील रहिआएको बताए । साथै उनले मुलुकको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचना प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने सिलसिलामा कम्पनीको योगदान महत्वपूर्ण रहेको बताए । देशव्यापी रूपमा आवश्यक पूर्वाधार विकासमा कम्पनीले विशेष ध्यान दिएको उनको भनाइ थियो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न