कतारबाट उड्ने भए दोस्रो चरणका सहजीकरण उडान

कतारबाट उड्ने भए दोस्रो चरणका सहजीकरण उडान


  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कोभिड १९ को प्रकोपबाट विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले थप एक हप्ताको समयावधि थप्दै खाडीका ६ राष्ट्रलाई ४२ वटा फलाइटको अनुमति दिएसँगै नेपाली राजदूतावास कतारले नेपाल फर्कन जरुरी भएका पीडित नेपालीहरूको नामावली सार्वजनिक गरेको छ ।

दूतावासले जारी गरेको सूची तथा जानकारी अनुसार जुलाईको १७, १८ र २० तारिख दोहाबाट नेपाल तथा हिमालयन एयरलाइन्सले सहजीकरण उडान गर्ने भएका हुन् । हिमालयन एयरलाइन्स मार्फत १,२१७ जनाले उडान भर्ने गरी नामावली सार्वजनिक भएको छ ।

हवाई टिकटको मूल्य अमेरिकी डलर ३९२ तोकिएको छ । यात्रीले उडान गर्नु अघि कोभिड सङ्क्रमण नभएको प्रमाणित गर्न मोबाइलको इतराज एपमा हरियो सूचक अनिवार्य हुनु पर्ने जनाएको छ । सुत्केरी तथा गर्भवती महिला र कोभिड १९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूले FIT TO FLY CERTIFICATE अनिवार्य बोक्नु पर्नेछ ।

राजदूतावासले आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड १९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत, पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका कतार आई डी, भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेकाहरूलाई प्राथमिकतामा राख्ने गरेको छ । यस अघि पहिलो चरणको सहजीकरण उडान मार्फत २,५२४ जनासहित ३८ वटा शव नेपाल पुगी सकेका छन् ।

Logo