आफ्नै कार्यकालमा स्वबासी समस्या समाधान गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

आफ्नै कार्यकालमा स्वबासी समस्या समाधान गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले काठमाडौं उपत्यकाभित्रको स्वबासी समस्या समाधान गर्ने आश्वासन दिएकी छन् । 

उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समितिले स्वबासी र बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने माग राख्दै मन्त्रीको ध्यानाकर्षण गराउने क्रममा उनले आफ्नै कार्यकालमा भूमि सम्बन्धिको समस्या समाधान गर्ने दृढता व्यक्त गरिन् । 

उनले भनिन्, ‘म अहिले मन्त्रिपरिषद्को सदस्य पनि हुँ । मलाई तपाइँहरुको समस्या राम्रैसँग ज्ञात छ । त्यसैले सयौंं वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्वबासी र जग्गाको निस्सा नभएका स्थानीयहरुलाई लालपूर्जा उपलब्ध गराउनेमा सहजीकरण गर्नेछु ।’

संघर्ष समितिकी संयोजक पृथविन्दु महर्जनको नेतृत्वमा गएको टोलीसँग भेटवार्ता गर्ने क्रममा मन्त्री श्रेष्ठले पीडित स्वबासीहरुको पक्षमा आफु सधैं उभिने बताइन् । 

पीडित पक्षले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराउनु अघि माइतीघर मण्डलामा धर्ना दिएका थिए । उनीहरुले २०७२ सालमा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भएपनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा गुनासो गरेका छन् । उनीहरुले भूमि सम्बन्धिको अधिकार प्राप्त हुनुपर्ने माग राख्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । 

स्थायी रुपमा स्वबासीहरुको समस्या समाधान गर्नको लागि बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने उनीहरुको मुख्य माग हो । घरखेत दर्ता बन्द भएकै कारणले सरकारलाई तिर्नुपर्ने घर कर समेत तिर्नबाट बञ्चित हुनु परेको उनीहरुको भनाइ छ । स्वबासीहरुको धर्ना र ध्यानाकर्षण कार्यक्रममा देशभरका नेवार समुदायको साझा संस्था नेवाः देय् दबूका प्रतिनिधिहरुले ऐक्यवद्धता थिए । काठमाडौं उपत्यकाभित्रका तीन शहरका पुराना बस्तीहरुमा पुस्तौंदेखि बसोबास गर्दै आएका धेरै स्वबासीहरुले लालपूर्जा पाएका छैनन् । 

कतिपय ठाउँमा यसअघिका भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठको पहलमा लालपूर्जा वितरण गरिएको भएपनि त्यो कामले पूर्णता पाइसकेको छैन ।

Logo