वैदेशिक व्यापार घाटा १५.९ प्रतिशतले कमी

वैदेशिक व्यापार घाटा १५.९ प्रतिशतले कमी


नेपाल राष्ट्र बैंकले वैदेशिक व्यापार घाटा १५.९ प्रतिशतले कमी आएको जनाएको छ । 

आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार वैशाखमा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आएर १२ खर्ब ४ अर्ब ४२ करोड कायम भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत रहेको थियो।

विवरणअनुसार कुल वस्तु आयात १६.८ प्रतिशतले कमी आएर १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१ प्रतिशत, २१.० प्रतिशत र १८.६ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । 

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधि, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

यसैगरी आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आएर १ खर्ब ३० अर्ब ९० करोड कायम भएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । 

अघिल्लो वर्षको सोहीअवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३.६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १००.६ प्रतिशत र ८.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँ बराबरको भएको थियो । 

Logo