अमेरिकी विद्यार्थीको नेपालमा अध्ययनः विद्यालय शिक्षामै वायु प्रदुषणको विषय समेट्न सुझाव

अमेरिकी विद्यार्थीको नेपालमा अध्ययनः विद्यालय शिक्षामै वायु प्रदुषणको विषय समेट्न सुझाव


अमेरिकन विद्यार्थी पेरिन क्रिस्काले नेपालको विद्यालयस्तरमै वायु प्रदुषण रोकथामका लागि आवश्यक सीप सिकाउन आवश्यक रहेको निष्कर्ष निकालेकी छन् । 

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका विभिन्न विद्यालयमा वायु प्रदूषणबारे ९ महिना अध्ययनपछि निष्कर्ष सुनाउँदै उनले नेपालमा वायु प्रदूषण बढ्दै गइरहेकोले स्कुल तहबाटै विद्यार्थीलाई प्रदूषण रोकथामका लागि सीप सिकाइनु पर्ने बताइन् । 

नौ महिनासम्म गरेको अध्ययनले काठमाडौँ र धनगढीको वायु प्रदूषणको अवस्था उस्तै रहेको भन्दै उनले विद्यालय भन्दा ५०० मिटर टाढा फोहर जलाउने नीति बनाउनु पर्ने, धनगढीको हकमा फोहर संकलनको सेवाका लागि दर्ता गर्नु पर्ने, फोहोर उत्पादन घटाउन विद्यालयमा फोहोर छुट्याउने अभ्यास लागू गर्नुपर्ने सुझाव दिएकी छन् । 

२०१९ मा नेपालमा प्रदूषणका कारण ४२ हजार मानिसको ज्यान गएको र यो कुल मृत्युको २२ प्रतिशत रहेको स्मरण गर्दै उनले नेपालमा कडा खालको वायु प्रदूषण ऐन/कानुन निर्माण जरुरी रहेको बताइन् । 

नेपालमा प्रदूषणबाट शिशु, बच्चा, वृद्धबृद्धा, गर्भवती महिला र अपांगहरु बढी प्रभावित हुने समुह रहेकोले प्रदूषण न्यूनिकरणका लागि व्यक्तिगत भन्दा सार्वजनिक यातायातका साधनमा यात्रा गर्नुपर्ने, पैदल हिड्ने वा साइकलबाट यात्रा गर्नुपर्ने, विद्युतीय सवारी, चुलोको प्रयोग गर्नुपर्नेमा उनको जोड छ। 

Logo