विमानस्थलमा आस्था राउत र प्रहरीबीच जे भयो (सिसिटिभी फुटेजसहित)

काठमाडौं । गायिका आस्था राउत गत बुधबार कालो रंगको ज्याकेट, कालै चस्मा, व्याग, बायाँ हातमा कफीको कप र सेतो रुमालसहित विमानस्थल पुगिन् ।

आज सार्वजनिक भएको सिसिटिभी फुटेज अनुसार उनी निकै हतारमा देखिन्छन् । उनको हातमा अमेरिकानो कफी (आस्था राउतको मनपर्ने कफी ) सहित आउछिन् । गायिका राउतले सँगै ल्याएको सानो पछाडि भिर्ने ब्याग एक्स–रे मेसिनमा हाल्छिन् । र, मेटल डिटेक्टिभ मेसिनबाट अगाडि लम्किन्छिन् । रातो बत्ती बल्छ । मेसिनले मेटल भएको संकेत गरेपछि सुरक्षाकर्मीले उनलाई ज्याकेट एक्स–रे मेसिनमा हाल्न लगाउँछिन् । त्यसपछि आस्थाको शैलीमा एक्कासी फरकपन देखिन्छ । उनले झोक्किएर ज्याकेट एक्स–रे मेसिनमा हालेको प्रस्टै देखिन्छ ।

झोक्किँदै ज्याकेट स्क्यानरमा हालेर उनी फेरि चेकिङ् कक्षमा पुग्छिन् । सिसिटिभी फुटेजमा उनी हतारिँदै गएको प्रस्टै देखिन्छ । उनलाई महिला सुरक्षाकर्मीले चेक गर्छिन् । त्यसपछि एक्स–रे मेसिनबाट आएको सामान गायिका राउतले उठाउछिन् ।

सामान उठाउन जाँदा उनले प्रहरीको चेकिङ कक्षमै कफीको कप छाडेकी हुन्छिन् । उनको कफीको कप देखेपछि त्यहाँ खटिएकी महिला सुरक्षाकमीले कप उठाएर उनलाई नै दिन ल्याउँछिन् । तर, आस्थाले आफ्नो कफीको कप लिन मान्दिनन् । कफी समाउन प्रहरीले आस्थाको हात समाएको देखिन्छ । उनले कफी नलिएपछि प्रहरीले उनको कप ब्यागमा हाल्दिन खोजेको सिसिटिभी फुटेजमा देखिन्छ ।

महिला प्रहरीले आस्थाको छेउमा रहेको टेबलमा कफी राख्छिन् । त्यसपछि आस्थाले फेरि कफीको कप पर धकेल्छिन् । प्रहरी आएर फेरि कप सार्छिन् । यही क्रममा कफी टेवलमा पोखिन्छ पनि । त्यसको छिटा आस्थाको ज्याकेटमा पनि परेको देखिन्छ । आस्थाले ज्याकेटको कफी पुच्छिन् र प्रहरीतर्फ औला उठाएको देखिन्छ । अनि उनी कफी टेबलमै छाडेर चेकजांच कक्षबाट भित्र जान्छिन् ।

आस्था राउतले विमानस्थलमा प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै  सामाजिक सञ्जालमा भिडियो अपलोड गरिन् । त्यसपछि उनी विवादमा तानिइन् । लगतै उनले आफ्नो पहिलो भिडियो हटाएर माफी माग्दै अर्को भिडियो पोष्ट गरिन् ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले गायिका राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी छन् । उजुरीमा आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

हेर्नुहोस् सिसिटिभी फुटेज 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार