‘ए’ डिभिजन लिगमा कुन क्लबले कति रकम जिते ?[भिडियाेसहित]

‘ए’ डिभिजन लिगमा कुन क्लबले कति रकम जिते ?[भिडियाेसहित]


अनेकन अनुमान र आशंकाबीच सुरु भएको ‘सहिद स्मारक ‘ए डिभिजन लिग’ शनिबारबाट औपचारिक रुपमा समापन भएको छ। 

नतिजा र खेल तालिकाको आधारमा सबैभन्दा प्रतिस्पर्धात्मक लिगका रुपमा परिचित ‘ए डिभिजन लिग’ उपाधि विजेताको निर्णय अन्तिम चरण आइपुगेपछि मात्र तय भयो। अझ रेलिगेसनको निर्णय त अन्तिम चरणसम्मै पर्खिनु परेको थियो।

कुनै पनि बेला जस्तोसुकै नतिजा आउन सक्थ्यो। एक जितले कुनै एक टिम उपाधिको दाबेदार हुन सक्थ्यो भने कुनै एक हारले सो टिम रेलिगेसनमा पर्न सक्थ्यो । अर्को शब्दमा भन्नुपर्दा यसपल्टको ‘ए डिभिजन लिग’ साँच्चै नै अब्बल भएको थियो । 

यो सिजनको ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड क्लब च्याम्पियन बन्यो। चर्च ब्वाइजले ‘ए’ डिभिजन खेलेको पहिलो वर्ष नै उपाधि जित्न सफल भएको हो।

उसले लिगका २६ खेलमध्ये १३ खेलमा जित, नौ खेल बराबरी र चार खेलमा हार व्यहोर्दै ४८ अङ्क जोड्न सफल भयो। गतवर्षको विजेता मच्छिन्द्र क्लब यो सिजन उपविजेतामा सिमित बन्यो। मच्छिन्द्रले सबै खेलमा ४५ अङ्क जोड्न सफल भयो। 

यस्तै विभागीय टोली नेपाल पुलिस क्लब तेस्रोमा समेटियो। नेपाल पुलिस क्लबले ४१ अङ्क मात्र जोड्न सफल रह्यो। यसैगरी एफसी खुमलटार र विभागीय टोली एपीएफ क्लब रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा भएको छ। खुमलटार ए’ डिभिजन लिगको पहिलो वर्षमै रेलिगेसनमा पर्यो भने एपीएफ पहिलो पटक बी डिभिजनमा घटुवा भएको हो। 

२०११ सालदेखि सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो संस्करणको उपाधि महाबीर क्लबले जितेको थियो। ‘ए’ डिभिजन लिग हालसम्म  ४५ पटक सम्पन्न भइसकेको छ। जहाँ मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक आठ पटक यो लिगको उपाधि जित्न सफल भएको छ भने दोस्रोमा रानी पोखरी कर्नर टिम आउँछ। उसले अहिलेसम्म ६ पटक सो उपाधि जित्न सफल भएको छ। यस्तै तेस्रो स्थानमा नेपाल पुलिस क्लब आउँछ उसले अहिलेसम्म ‘ए डिभिजन लिगको उपाधि पाँच पटक जित्न सफल भएको छ। 

कुन क्लबले कति रकम पाए ?
लिगको उपाधिसँगै चर्च ब्वाइजले ७५ लाख नगद प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गर्न सफल मछिन्द्र फुटबल क्लबले ५० लाख प्राप्त गरेको छ। यस्तै नेपाल पुलिस क्लबले तेस्रो हुँदै २५ लाख रुपैयाँ प्राप्त गरेको छ। फेयर प्ले टोली नेपाल पुलिस क्लबले ३ लाख प्राप्त गरेको छ।

यस्तै चर्च ब्वाइज युनाईटेड क्लबका कप्तान अनन्त तामाङ मोस्ट भ्यालुएबल प्लेयर बन्दै ३ लाख प्राप्त गर्न सफल हुँदा सर्वाधिक गोलकर्ता बनेका मछिन्द्रका आफिज ओलावाले २ लाख प्राप्त गरे। यस्तै सर्वोत्कृष्ट गोलकिपर बनेका चर्च ब्वाइजका प्रिसोले २ लाख प्राप्त गरे। थ्री स्टार क्लबका लाकेन लिम्बुले इमर्जिङ प्लेयर घोषित हुँदै १ लाख ५० हजार प्राप्त गरे। 

‘सहिद स्मारक ‘ए डिभिजन लिग’ को अन्त्यसँगै लामो समयदेखि व्यावसायिक फुटबल खेलिरहेका तीन खेलाडीले सन्यास घोषणा लिएका छन्। जसमा थ्री–स्टारका कप्तान तथा मिडफिल्डर विक्रम लामा,पुलिसका जुमानु राई र भोला सिलवालले अन्तर्राष्ट्रिय तथा व्यबसायिक लिगबाट सन्यास लिएका हुन्। यी तीन खेलाडी बाहेक आर्मीका दीपक गुरुङले पनि व्यावसायिक खेलजीवनबाट सन्यास लिएका थिए।

Logo