नेपाल आमा पार्टी र नेपाल सुशासन पार्टीबीच एकीकरण हुँदै

नेपाल आमा पार्टी र नेपाल सुशासन पार्टीबीच एकीकरण हुँदै


वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ नेपाल आमा पार्टी र नेपाल सुशासन पार्टी एक हुने भएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी एकीकरणको अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । 

२०७९ मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यी दुई दल समेतले स्वतन्त्र राजनीतिक शक्ति निर्माण गरी बच्चा काखमा लिएकी आमा चुनाव चिन्ह लिएर चुनावी अभियानमा संयुक्त रुपमा जनतामा गएका थिए । 

नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरीले राज्यको दोहन गर्नेहरुबाट यो राज्यलाई छुटाकारा दिलाउन आफूहरु यस अभियानमा लागेको बताए । उनले सबै नेपाली युवाहरुलाई यस अभियानमा जोडिनसमेत आह्वान गरे । नेपाललाई जोगाउनका लागि देशभक्त शक्तिहरु जुट्नुको विकल्प नरहेको उनले बताए । समन्वय र नयाँ सोच विकास गर्न सक्नुपर्ने उनको भनाइ छ । 

शिक्षा, उत्पादन र उर्जालाई विशेष जोड दिन नसकेसम्म नेपालवादको सपना पूरा नहुने उनको भनाइ छ ।

उनले भने,‘खास गरेर भोक र रोग निवारणका निम्ति हाम्रो चिजहरु के छन् ? त्यसलाई कसरी परिचालन गर्ने ? विश्वमा पत्ता लागेका नयाँ प्रविधि ल्याएउत्पादनमुखी कार्ययोजनाबाट हामी यहाँबाट बाँच्न सक्ने अवस्था सिर्जना गर्नका लागि हामी प्रतिबद्ध छौं।’

भ्रष्टाचारी र कुशासनको विरुद्धमा अब सिर्जनात्मक र सकारात्मक बन्न आवश्यक रहेको उनले बताए ।नेपालआमा पार्टीका महासचिव विश्वनाथ गौतमले आफूहरु राष्ट्रवाद, स्वाधीनता, राष्ट्रियता र सुशासनजस्ता विषयलाई लिएर अगाडि बढिरहेको उनले दाबी गरे । 

नेपाल सुशासन पार्टीका उपाध्यक्ष तुलराज बस्याल अहिलेका शासकहरुले वैधानिक ढंगले राणाहरुले भन्दा पनि बढी राष्ट्रको ढुकुटी लुटिरहेको आरोप लगाएका छन् । अहिलेको नेताहरु नितान्त स्वार्थपरक भएका कारण देश दलदलमा फसेको उनको दाबी छ । देश भावी पुस्ताका लागि पनि सुरक्षित राख्नका लागि आफूहरु एकजुट हुने तयारीमा रहेको उनले बताए ।

अहिलेको शासकहरु जनताप्रति बेसरोकार रहेको उनको भनाइ छ । देशमा राष्ट्रियता, सुशासन, समृद्धि र रोजगारी प्रवद्र्धनको कार्य अहिलेका शासकबाट सम्भव नभएकाले अब वैकल्पिक शक्ति उदाउनुको विकल्प नरहेको बताए ।

Logo