कान्तिपुर हिसान एडुफेयरकाे आठौं संस्करण बिहीवारदेखि

कान्तिपुर हिसान एडुफेयरकाे आठौं संस्करण बिहीवारदेखि


“आठौं कान्तिपुर हिसान एडुफेयर -२०२३” यही जेठ ३२ देखि असार ३ गतेसम्म हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, हिसान र कान्तिपुर पब्लिकेसन्स ग्रुपको संयुक्त आयोजनामा ‘उत्कृष्ट शिक्षा नेपाली’ भन्ने नाराका साथ हुने कान्तिपुर हिसान एडुफेयर प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ ।

नेपालमै संचालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकलाई नेपालमै उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा विविध परामर्श दिने उद्देश्यले ७ वर्षदेखि शैक्षिक मेला आयोजना हुँदै आएको छ । 

चार दिनसम्म चल्ने मेलामा नेपालमा सञ्चालनमा रहेका विभिन्न शैक्षिक संस्थाबारे परामर्श दिइने छ । गुणस्तरीय र उत्कृष्ट शिक्षाबारे यथेष्ट जानकारी नहुँदा अन्योलमा रहेका विद्यार्थी र अभिभावकका लागि मेला फलदायी बन्दै आएको छ । नेपालको शिक्षाबारे पर्याप्त जानकारी नहुँदा बर्सेनी करोडौं रकम बाहिरिरहेका बेला विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसंग सम्बन्धित व्यक्तिलाई एउटै छानामुनि ल्याएर मेलाले आवश्यक परामर्श गर्दै आएको छ । 

प्लस २ देखि उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुने शैक्षिक मेलामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सीटीईभीटी)को सम्बन्धनमा संचालित ७५ भन्दा बढि शैक्षिक संस्था सहभागी हुने आयोजकको विश्वास छ । जसको २ लाख बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । 

मेलामा प्रवेश निशुल्क गरिएको छ । एक हजारभन्दा बढी विद्यार्थीको लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ । मेलाको प्रत्यक्ष प्रशारण गरी काठमाडौं बाहिर रहेका विद्यार्थीलाई समेत अनलाइन मार्फत शैक्षिक जानकारी दिने आयोजकले जनाएको छ । 

Skip This
Logo