उद्घाटन भएकै दिन बन्द भयो हिसान एडुफेयर

उद्घाटन भएकै दिन बन्द भयो हिसान एडुफेयर


काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजदेखि  सुरू भएको शैक्षिक मेला बन्द गराएको छ। 

सहमतिविपरीत माध्यामिक शिक्षा परीक्षा (एसईई) र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाममा शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै महानगरले “आठौं कान्तिपुर हिसान एडुफेयर -२०२३” बन्द गराएको हो । 

एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको थियो । असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू राखिएका थिए भने मेलामा निःशुल्क प्रवेश गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो । 

तर, सभामुख देवराज घिमिरेले उद्घाटन गरेको उक्त मेलालाई महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहितको नेतृत्वमा गएको प्रहरी टोलीले बन्द गराएको हो। मेलाबारे स्थानीय तहलाई जानकारी नगराएको र एसईईको नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो । पढाइ हुने विषयबारे मात्र विद्यार्थीहरूलाई जानकारी गराउने शर्तमा भोलिदेखि मेला आयोजना गर्न दिने तयारी गरिएको छ । 

केही दिनअघि महानगरले एसईईको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न सबै विद्यालयलाई पत्राचार गरेको थियो । 

Logo