#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व638811637786230883892921865
नेपाल181181582221

एउटा किताब हेर्नकै लागि दैनिक ३ विदेशी केशर पुस्तकालय धाउँछन्

काठमाडौं । करिव १२ सय वर्ष पुरानो एउटा संरक्षित पुस्तक । करिब दुुई फिट लम्बाई भएको उक्त पुस्तकको दुवैपट्टि काठको खोल छ । उक्त पुस्तकको चौडाई करिब दुई इन्च मात्र छ । ३ सय पृष्ठकाे पुस्तक संस्कृत भाषामा लेखिएको आयुर्वेद औषधिका विषय उल्लेख छन् । हस्तलिखित उक्त पुस्तकको हो, ‘सुश्रुत संहिता’ । उक्त पुस्तक युनेस्कोस्थित ‘मेमारी अफ द वर्ड रजिस्ट्ररमा सुचिकृत पुस्तक हो ।

युनेस्कोले सन् २०१३ मा केशर पुस्तकालयको ‘सुश्रुता संहिता’लाई सूचीकृत गरेको हो । पुस्तकालयमा ऐतिहासिक, पुरातात्विक, राजनीतिक, धार्मिकलगायत करिब ६५ हजार पुस्तक भएको केशर पुस्तकालयका प्रमुख दशरथ मिश्रले बताए ।

उक्त ऐतिहासिक पुस्तक केशर पुस्तकालयमा संरक्षित गरिएको छ । सुश्रुत संहिता आयुर्वेद एवं शल्य चिकित्साको प्राचीन संस्कृत ग्रन्थ हो । सुश्रुत संहिता आयुर्वेदको तीन मूलभूत ग्रन्थहरू मध्ये एक हो । सुश्रुत संहितामा १८४ अध्याय हुन्छन् ।  जसमा ११२० रोगहरू, ७०० औषधीय जडिबुटी, खनिज–स्रोतमा आधारित ६४ प्रक्रियाहरू, जन्तु–स्रोतमा आधारित ५७ प्रक्रिया, तथा आठ प्रकारका शल्यक्रियाहरू उल्लेख छन् ।

उक्त सुश्रुत संहिता आदिमकालको भएकोले संसारमा यो मात्र संरक्षित रहेको केशर पुस्तकालयका प्रमुख मिश्रले बताए । उनका अनुसार केशर पुस्तकालय ऐतिहासिक यसै कारण छ, सुश्रुत संहिता जस्तै ७०० थान ऐतिहासिक ग्रन्थहरू केशर पुस्तकालयमा मात्र संरक्षित छन् । सबै संरक्षित ग्रन्थ हस्तलिखित हुन् । सबै संकृत, नेवारी र  नेपाली भाषामा रहेको केशर पुस्तकालयका प्रमुख मिश्रले बताए ।

विश्वमै नभएको कपडाको ऐतिहासिक नक्सा केशर पुस्तकालयमा

केशर ऐतिहासिक पुस्तकालयमा यी बाहेक रोयल बंगाल टाइगर, अक्सफोर्ड पुस्तकालयमा नभएका १०० थान पुस्तक, संसारमै नभएको ऐतिहासिक ७ वटा प्रत्येक महादेशीय कपडाको लेखिएको हस्तलिखित नक्सा समेत रहेको प्रमुख मिश्रले बताए । केशर शम्शेरले अक्स्फोर्ड पुस्तकालयबाट ल्याएको र ती पुस्तक यहाँ मात्र रहेको उनले बताए–‘अक्सफोर्ड पुस्तकालयमा नपाएको किताव यहाँ पाइन्छ रे भन्दै आउने अनुसन्धानकर्ताहरू पनि छन् । हो, हामीसँग १०० वटा जति पुस्तक छन् पनि ।’

संरक्षण गर्न समस्या

केशर पुस्तकालयमा धेरै पुराना पुस्तकहरू मात्र ८ सय थान जति छन् । मौसम एकनाशको नहुनु, कागजमा लाग्ने किरा, भौतिक संरचना जिर्ण भएको कोठामा राख्नुपर्ने बाध्यता, ऋतु अनुसार तापक्रम फरक हुनु जस्ता समस्याको कारण संरक्षण गर्न समस्या भएको पुस्तकालयले जनाएको छ । साथै पुराना पुस्तकमा प्रयोग गरिने तेल, तापक्रम एकनास बनाउने लगायत सबै प्रकारका प्रयासबीच पनि संरक्षणमा समस्या भएको पुस्तकालयका प्रमुख मिश्रले बताए । लेमन आएल ट्रिट गरेको भरमा मात्र संरक्षण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

प्रचार प्राथमिकतामा परेन

सुश्रुत संहिता हेर्न कै लागि मात्र औसत रुपमा मासिक १५० को हाराहारीमा विदेशी पर्यटकहरू आउने गर्छन् । पुस्तक हेर्न आउने, अनुसन्धान गर्न आउने पर्यटकको तथ्याङक हेर्दा सबैभन्दा बढी क्रमशः अमेरिका, युरोप, चीन, भारतलगायतका पर्यटकहरु आउने गर्छन् । तर एउटा पुस्तक हेर्न मात्र वर्षमा सयौं पर्यटक नेपाल आउने गरेका छन् । तर नेपाल भ्रमण वर्षमा पर्यटक आगमनमा सहयोग गर्ने भनेर प्रचारमा नेपाल सरकारले कन्जुस्याईं गरेको पुस्तकालयका प्रमुुख मिश्रले गुनासो गरे । प्रमुख मिश्रका अनुसार पुस्तकालयमा काम गर्ने कर्मचारी समेत दोस्रो दर्जाको रुपमा हेरिने गरेको तथा पुस्तकालयले पर्यटन प्रवर्द्धन गर्छ भन्ने सोच कसैसँग नआएको उनले गुनासो गरे ।

नेपाली पाठक न्यून

नेपालमा बढ्दो सामाजिक सञ्जालको प्रयोग, मोवाइलमा सबैको पहुँच, पढ्ने बानीको विकास कम हुँदै जानुजस्ता समस्याका कारण नेपाली पाठक घटेको छ । २०७२ सालको भुकम्पअघि सम्म राम्रै पाठक भएपनि त्यसपछि केशरमहलमा भएको क्षतिको कारण ठाउँसमेत साँघुरो भएकोले पनि पाठक घटेको उनले बताए । साथै पाठकहरू परिवर्तन भएको उनले बताए । पढ्न कै लागि आउने गरेका पाठकहरू घटेको तर अनुसन्धान गर्ने पाठक भने बढ्दै गइरहेको पुस्तकालयका प्रमुख मिश्रले बताए ।

अव पाठक खोज्न जाने

पुस्तक खोज्दै पाठक आउन छोडेपछि पुस्तकालय आफै पाठक खोज्दै जाने भएको छ । पुराना पुस्तकलाई डिजिटलाइज्ड गरी सबै एन्ड्रोइडमा पढ्न पाउने गरी काम भइरहेको प्रमुख मिश्रले बताए । डिजिटल एक्सेस टु रिसर्चमार्फत केशर पुस्तकालयको सबै पुस्तक पढ्न पाउनका लागि काम थालिसकिएको र अहिलेसम्म १ हजार थान पुस्तकको  अर्काइब फाइल तयार भइसकेको प्रमुुख मिश्रले बताए । डिजिटल प्रविधिमार्फत पुस्तकालय नआउने पाठकलाई घरमै पढ्न बानी बसाउन तथा यहाँको पुस्तक अध्ययन गर्न पाउनको लागि डि–स्पेश सफ्टवेयरमार्फत काम धमाधम भइरहेकोले अव छिटै डिजिटल प्रविधिको प्रयोग नेपाली पाठकले गर्न पाउने उनले बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार