उपत्यकामा तरकारी : थोकमा सस्तो, खुद्रामा छोइ नसक्नु

उपत्यकामा तरकारी : थोकमा सस्तो, खुद्रामा छोइ नसक्नु


काठमाडौं ।

कालीमाटी थोक बजारको तुलनामा खुद्रा बजारमा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपैयाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपैयाँमा खुद्रा किनबेच भइरहेको छ । गोलभेँडा मात्रै होइन हरेक तरकारीको भाउ यसैगरी महँगो भएको छ । यसको प्रत्यक्ष मारमा आमसर्वसाधारण परेका छन् ।

तरकारीका खुद्रा व्यापारीले सार्वजानिक सवारीसाधन नचलेको बहाना बनाउँदै मनलाग्दी भाउमा तरकारी बिक्री गर्न थालेपछि यसको मारमा उपभोक्ता परेका हुन् । त्यसो त कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको यस अवधिको तुलनामा अहिले हरेक तरकारीको भाउ सस्तो भएको छ तर खुद्रा बजारमा तरकारी छोइ नसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले थोक बजारमा अघिल्ला वर्षहरूको तुलनामा अधिकांश तरकारीको भाउ सस्तो भएको दाबी गरे । उनका अनुसार बजारमा दैनिक साढे पाँच सय टन मात्रै तरकारी आउँदा पनि माग कम भएर होला थोक बजारमा भाउ सस्तो छ ।

कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले थोक बजारमा तीन÷चार वर्ष यताकै तुलनामा अहिले तरकारी भाउ सस्तो भएको दाबी गरे । उनले बन्दाबन्दीका कारण बजारमा तरकारी कम आपूर्ति हुँदासमेत खरिद मूल्य पाउन गाह्रो भएको बताए । अघिल्लो वर्ष असार २९ गते गोलभेँडा प्रतिकेजी ६४ रुपैयाँ थोकमा किनबेच भएकोमा अहिले १२ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बन्दा प्रतिकेजी ४० रुपैयाँ भएकोमा अहिले १८ रुपैयाँ मात्रै छ ।

घिउसिमी १३५ रुपैयाँ भएकोमा अहिले ४० रुपैयाँ छ भने बोडी ९८ रुपैयाँ थोक मूल्य भएकामा अहिले ३३ रुपैयाँ छ । यो वर्ष थोक बजारमा तरकारीको भाउ सस्तो भए पनि खुद्रा बजारमा भने छोइ नसक्नु छ । थोकमा १८ रुपैयाँ प्रतिकेजीको बन्दा ७० रुपैयाँ, ३८ रुपैयाँको मूला ८० रुपैयाँ, ३० रुपैयाँको स्थानीय काँक्रो ८० रुपैयाँ, ३३ रुपैयाँको तने बोडी ८० रुपैयाँ र २५ रुपैयाँको तीतेकरेला ८० रुपियाँ खुद्रामा किनबेच भइरहेको छ ।गोरखापत्रबाट

Logo