केन्द्रबिन्दु एक्सप्रेसः निर्वाचन क्षेत्रमा पिउनेपानी पुर्‍याइएपछि खुशीमा नुहाए रविले [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः निर्वाचन क्षेत्रमा पिउनेपानी पुर्‍याइएपछि खुशीमा नुहाए रविले [भिडियाे]


नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझ्न नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ। संसदीय समितिको आजको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले नक्सामा लुम्बिनी, कपिलवस्तुसहितको नेपाली भूमि समावेश भएकाबारे जानकारी लिन भनेको उल्लेख गरे।

भारतको विदेश मन्त्रालयले सम्राट अशोकका समय कायम रहेको भू-भागलाई समेटेर नक्सा बनाएको र यो राजनीतिक नभएको स्पष्ट पारेको मन्त्री साउदले बताए। 

विशेष अदालतले कर फस्र्योट आयोगका तत्कालिन पदाधिकारी चुँडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ। शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष र लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाएको हो। अदालतले उनीहरुलाई ४ अर्बभन्दा बढी रकम जरिवाना समेत तोकेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको छ।

उनीसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। उनीहरु सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटना भएको थियो। मन्त्री सिंहकी श्रीमती र भाउजुको बझाङमा र गम्भीर घाइते सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको प्रहरीले जनाएको छ। 

अविरल वर्षापछि तीन दिनअघिको बाढीपहिरोमा परेर हालसम्म १० जनाको मृत्यु भएको छ । ताप्लेजुङ, पाँचथर, संखुवासभासहितका जिल्लामा बेपत्ता भएका २६ जनाको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौंको मनमोहन कार्डियोथेरापिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार मध्यान्नदेखि २ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको हो। शल्यक्रिया पछि उनको मुटुमा पेसमेकर राखिएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्ने भएका छन्। यसका लागि प्रश्न सोध्न १५ जना सांसद रहनेगरी विभिन्न १७ वटा समूह बनाइएको सभामुख देवराज घिमिरेले जानकारी दिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सक्रियतामा चितवन–२ मा पिउने पानील्याइएको छ।

आफ्नो निर्वाचन क्षेत्रमा पानीको उद्घाटन गर्दै उनले  पानीको फोहोरामा नुहाएर खुशीयाली साटेका थिए।

रविले चितवन–२ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडि, भतेरिका स्थानीयका लागि पानी ल्याएका हुन्। ती स्थानका लागि ७ दशमलब ५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याइएको हो।

–प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स)को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। अर्थ समितिको आजको बैठकले विधि र प्रक्रिया पुर्‍याएर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई  निर्देशन दिएको हो।

आधारभुत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ताको व्यवस्थापन आफैं गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ७ बुँदे परिपत्र जारी गर्दै सरकारलाई आर्थिक भार परेकाले तलबभत्ता आफैं बेहोर्न भनेका हुन्। 

काठमाडौँको माइतीघरमा नागरिकताविहीन संघर्ष समिति र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारी निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि दुई पक्षबीच भएको झडपमा दुई जनाको टाउकोमा गम्भीर चोट लागेको छ। केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

उपाप्रध्यापक प्रेम चलाउनेको धर्नामा ऐक्यबद्धता जनाउन ब्यानरसहित जिल्ला अदालत पुगेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफूलाई निर्घात कुटपिट गर्ने नेविसंघ कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चनाउने धर्नामा छन्। 

सञ्चालनमा आएको झण्डै सात महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ। १ सय ६० यात्रुसहित चिनियाँ जहाज सिचुवान एयरलाइन्सले पहिलो उडान भर्न लागेको हो। 

शंकास्पद मृत्यु भएकी आरती साहलाई न्यायको माग गर्दै प्रदर्शनमा रहेका स्थानीयले मंगलबार जिल्ला अदालत धनुषामा ढुंगामुढा गरेका छन्। प्रहरीले हत्यामा संलग्नलाई जोगाउन खोजेको भन्दै आरतीका माइतीपक्ष आन्दोलनमा छन्। प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीसँग भएको झडपमा चार जना घाइते भएका छन्। 

नेपाली बजारमा गोलभेँडाको मूल्य बढेको छ। नेपाली गोलभेँडाको मूल्य झण्डै चार रुपैयाँले बढाएर प्रतिकेजी १४ रुपैयाँसम्म पुर्‍याइएकाे छ। भारतीय गोलभेँडाको मुल्य भने नेपाली बजारमा प्रतिकेजी ५० रुपैयाँसम्म छ। 

कारोबार हुने साताको तेस्रो दिन सेयर बजार २६ दशलमब ५६ अंकले घटेर २०६४ दशमलब ८२ बिन्दुमा पुगेको छ । कारोबार रकममा पनि भने वृद्धि भएर ४ अर्ब ११ करोड ६ लाख रुपैयाँ पुगेको छ । 

आन्ध्र महासागरमा १११ वर्षअघि डुबेको चर्चित टाइटेनिक पानीजहाजको भग्नावशेष हेर्न गएका पर्यटक चढेको पनडुब्बी सम्पर्कविहीन भएको छ। पानीमा डुबुल्की मारेको १ घण्टा ४५ मिनेटमै पनडुब्बीसँगको सम्पर्क टुटेको थियो। उक्त पनडुब्बीमा बेलायत र पाकिस्तानका ५ जना धनाढ्य छन्। 

आईसिसी विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा लेग स्पिनर सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन भएका छन्।

जिम्बाब्वेविरुद्धको खेलमा ७७ रन खर्चेका उनी मंगलबार अमेरिकासँगको खेलमा ५८ रन खर्चदाँसमेत विकेटविहीन बनेका हुन्। 
 

Logo