लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो

लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो


लुम्बिनी विकास कोषले दानबापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ ।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानबापतको अपरिवर्तीय मुद्रा पहिलो पटक सटही भएको हो ।

लुम्बिनी विकास कोष र राष्ट्र बैंकबीच भएको सम्झौताअनुसार गत चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको थियो । कोषले मुचुल्का उठाएर श्रीलङ्का, म्यानमार, भियतनाम, कम्बोडिया, बङ्गलादेशसहितका देशको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालयले सिआइएमबी बैंक सिङ्गापुर पठाएको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले लुम्बिनीमा विदेशी नागरिकले पवित्र भावनाले प्रदान गरेको दान रकम नसाटिएर कागज बराबर भएकामा पटक–पटकको प्रयासपछि रकम सटही भएर आएको बताए ।

नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दानबापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन नसकेकामा सिङ्गापुरस्थित सिआइबी बैंकबाट राष्ट्र बैंकको खातामा रु ५४ लाख २९ हजार सात सय ३१ प्राप्त भएको राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताए ।

उनले केही मुद्रा पुरानो भएकाले सटही हुन नसकेको उल्लेख गर्दै पठाइएकामध्ये ९० प्रतिशत मुद्रा सटही भएर आएको बताए । सोमबार राष्ट्र बैंकको खातामा रकम आएको र अब लुम्बिनी विकास कोषमा रकम पठाइने पाण्डेले बताए ।

गत चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

Logo