फ्रान्सेली फरवार्ड एनकुन्कु इंग्लिस क्लब चेल्सीमा अनुबन्धित

फ्रान्सेली फरवार्ड एनकुन्कु इंग्लिस क्लब चेल्सीमा अनुबन्धित


फ्रान्सेली फरवार्ड क्रिस्टोफर एनकुन्कु इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट ५२ मिलियन पाउण्डमा ६ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो ।

उनको सम्झौता १ जुलाईबाट शुरु हुनेछ । फ्रान्सबाट १० क्याप जितेका एनकुन्कु नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको पहिलो अनुबन्ध हो । २५ वर्षीय एनकुन्कुले गत सिजन बुन्डेसलिगामा २५ खेलमा १६ गोल गरेका थिए ।

‘म चेल्सीमा आबद्ध हुन पाउँदा धेरै खुसी छु । म यो चुनौतीका लागि धेरै उत्साहित छु र चेल्सीको जर्सी लगाउन पाउँदा गर्व लाग्छ ।’ एनकुन्कुले भने, ‘लिग वान र बुन्डेसलिगा खेलिसकेपछि मेरो लक्ष्य प्रिमियर लिग नै थियो । त्यो सपना पूरा हुँदैछ ।’

एनकुन्कुले नयाँ प्रशिक्षक र टोलीका सहयात्रीसँगै चेल्सी समर्थकहरूलाई भेट्न उत्सुक रहेको बताएका छन् । सन् २०१९ मा लाइप्जिगमा आवद्ध हुनुअघि एनकन्कुले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा चार वर्षको अवधिमा तीनवटा लिग वान उपाधि र दुईवटा फ्रेन्च कप जित्न सफल भएका थिए ।

सन् २०२१–२२ मा लिगमा २० गोल र १५ असिस्ट प्रदान गरेपछि उनी बुन्डेसलिगा प्लेयर अफ द सिजन र जर्मन पीएफए प्लेयर अफ द सिजन घोषित भएका थिए ।

यस महिनाको शुरुमा लाइप्जिगले लगातार दोस्रो पटक जर्मन कपको उपाधि जित्दा उनले गोल गर्न सफल भएका थिए । लाइप्जिग यो सिजनको बुन्डेसलिगामा भने तेस्रो भएको थियो । एनकुन्कुले गत वर्ष फ्रान्समा डेब्यु गरेका थिए तर खुट्टाको चोटका कारण विश्वकप गुमाएका थिए ।

Logo