उद्योग वाणिज्य महासंघमा बढ्यो चुनावी सरगर्मी, ढकाल र प्रधानको रोचक भिडन्त

उद्योग वाणिज्य महासंघमा बढ्यो चुनावी सरगर्मी, ढकाल र प्रधानको रोचक भिडन्त


काठमाडौं ।
निजी क्षेत्रको सबैभन्दा ठूलो र शक्तिशाली छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ ।

गत चैत अन्तिम साता हुने भनिएको महासंघको चुनाव कोरोनाका कारण सरेर साउन २५ र २६ गतेका लागि तय भएको छ । चुनावको मिति तय भएपछि व्यवसायीहरुको दौडधुप पनि निकै बढेको छ । विधान अनुसार महासंघको अध्यक्ष स्वतःवरिष्ठ उपाध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षका लागि हुने चुनाव निकै रोचक हुने गर्छ । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा छन् । उनी स्वतःअध्यक्ष हुँदैछन् । अध्यक्षका लागि चुनाव नहुने भएकाले महासंघको चुनावमा मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा हुने गर्छ । जुन पदका लागि आकांक्षीहरुले चर्काे प्रतिस्पर्धा गर्दै आएका छन् । यसपटक उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् ।

वरिष्ठ उपाध्यक्षमा उमेदवारी घोषणा गर्ने व्यवसायी चन्द्र ढकाल महासंघको एशोसिएट उपाध्यक्ष हुन् । आइएमई समूहका अध्यक्ष समेत रहेका ढकालले ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका छन् । महासंघको गौरवलाई थप उचाइमा पु¥याउन र निजी क्षेत्रको महत्वलाई नीति निर्माणमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ ढकाल चुनावी मैदानमा उत्रिएका हुन् ।

उनलाई वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि साथ दिने भएका छन् । उपाध्यक्ष ढकाल र श्रेष्ठ मिले भने अर्का उपाध्यक्ष प्रधान भने एक्लै छन् । जलविद्युत, उत्पादन, सूचना प्रविधी तथा ट्राभल एण्ड टुरमा लगानी गरेका ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूत पनि हुन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का उमेदवारी किशोर प्रधान यसअघिको चुनावमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । एक उपाध्यक्ष पद रिक्त भएपछि प्रधानलाई सबैको सहमतिमा महासंघको जिल्लानगर उपाध्यक्ष बनाइएको थियो । उनलाई वरिष्ठ उपाध्यक्ष गोल्छाले साथ दिने भएका छन् । उपाध्यक्ष प्रधानले महासंघको सुदृढीकरण गर्ने गरी उमेद्वारी घोषणा गरेको बताए । प्रधान, जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघको तर्फबाट आएका हुन् । उनले उद्योग व्यवसायीका लगानीको मनोबाल बढाउने, उद्योग व्यवसायीको हकहितमा काम गर्ने, संगठनको सुदृढीकरण गर्ने, जिल्लाका बस्तुगत सदस्यको क्षमता अभिवृद्धि गर्ने लगायतका विषयलाई प्राथमिकता दिएका छन् ।

महासंघको विधान अनुसार तीन उपाध्यक्षको व्यवस्था छ । जसमा महासंघको एक उपाध्यक्ष एसोसिएटबाट निर्वाचित हुने विधानमा उल्लेख छ । एसोसिएटमा अहिले ९ सयभन्दा बढी मत छ । यसपाली एसोसिएट उपाध्यक्षका लागि सौरभ ज्योतिले यसअघि नै उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरी, एसोसिएट उपाध्यक्षका अर्का दावेदार हुन् त्रिवेणी समूहका प्रवन्ध निर्देशक रामचन्द्र सांघाईं । एनआइसी एशिया बैङ्कका सञ्चालक उनको बैङ्क तथा वित्तीय क्षेत्रमा राम्रो लगानी छ । त्यस्तै, तीन मध्ये अर्का उपाध्यक्ष जिल्ला नगरबाट छान्नु पर्नेछ । महासंघको विधान अनुसार ११० जिल्ला तथा नगरहरूबाट एक जना उपाध्यक्ष छानिनु पर्ने व्यवस्था छ । यस पदका लागि प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ र प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठ यसअघि वस्तुगतबाट उपाध्यक्ष भइसकेका छन् । प्रदेश ५ का तिवारीलाई व्यवसायी चन्द्र ढकाल समूहलेसाथ दिदैंछ ।

त्यस्तै, वस्तुगत उपाध्यक्षका लागि लक्ष्मी ग्रुपका अध्यक्ष अञ्जन श्रेष्ठ पनि देखिएका छन् । अटोमोबाइल डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष समेत रहेका उनलाई महासंघमा बलियो उमेद्वारको रुपमा हेरिएको छ ।

Logo