नेपालमा भारतका चार वटा समाचार च्यानलबाहेक अन्य सुचारु

नेपालमा भारतका चार वटा समाचार च्यानलबाहेक अन्य सुचारु


काठमाडौं ।

केबल अपरेटरहरूले चार दिनदेखि चार वटा भारतीय न्यूज च्यानलको प्रशारणमा रोक लगाएका छन् भने अन्य बाँकी च्यानलहरु भने प्रशारण भइरहेका छन् ।

केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रशारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको छ । केबल अपरेटरबाट प्रशारण हुदै आएका भारतीय यी न्युज च्यानल रोकेको भए पनि अन्य केही अपरेटरहरुले अरु च्यानलको पनि प्रशारण रोकेका छन् ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रशारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रशारणमा रोक लगाएका थिए । यता सरकारले पनि केबल अपरेटरहरुले गरेको निर्णय स्वागतयोग्य भएको भन्दै सरकारले पनि भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने स्पष्ट पारेको छ ।

शुक्रबार मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरेका छन् । सञ्चार मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका अर्थमन्त्री डा.खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताएका छन् ।

“नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भए पनि भारतीय न्यूज च्यानलहरुले दुरासायपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध हट्दैन, भन्दै नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ । यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छ । एकताबाट तर्सेर, चित्त नबुझेर भए पनि स्वस्थ छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जानु कुनै पनि मिडियाले सुहाउँदैन । भारतीय मिडियाहरुको कदमलाई हामीले दुरासायपूर्ण भनेर भनिसकेका छौँ । सेवा प्रदायकहरुले स्वतःस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाएकाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न म आग्रह गर्दछु ।”

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चार माध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन÷ प्रशारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएको छ ।

त्यस्तै, सरकारले भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उछृङ्खल समाचार प्रशारण भएकोमा ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रशारित अश्लिल सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

Logo