सतहमा नै सकिएको ‘छपाक’

  • दिवस गुरागाईं –

जनवरी ७ तारिखका दिन जेएनयु (जवाहरलाल नेहरू युनिभर्सिटी) पसेपछि बलिउड अभिनेत्री दीपिका पादुकोणको कदममा राजनीतिक रङ लाग्यो । भारतीय जनता पार्टीका विद्यार्थीको आक्रमणमा घाइते भएका जेएनयुका छात्र–छात्राहरूलाई भेट्न उनी त्यहाँ छिरेकी थिइन् । वहाना जे बनाए पनि तीन दिनपछिदेखि प्रदर्शनमा आउने आफ्नो फिल्म छपाकको ‘प्रमोशन’ उनको ‘मूूल मकसद’ थियो ।

तर, दीपिकाको जेएनयु मिसन सत्ताका अरिंगलहरूका कारण प्रत्युत्पादक भयो, फिल्मको बक्स अफिसमा । झण्डै ४० करोडको छपाकवाट लगानी उठाउनै मुस्किल परेको छ । यस्तो हुनुको पहिलो कारण ‘छपाक’ माथि ‘बहिष्कार’को नारा हो । यद्यपि यो सर्वमान्य तर्कचाहिँ होइन । दोस्रो तथा महत्वपूर्ण कारणचाहिँ फिल्मको हलुका प्रस्तुति हो । अर्थात् गहिरो विषयको सतही फिल्म हो, ‘छपाक’ ।

२००५ मा एसिड प्रहारमा परेकी लक्ष्मी अग्रवालको जीवन कथामा बनेको फिल्म हो, यो । फिल्म प्रमोशन अघिदेखि नै लक्ष्मी पनि सक्रिय बनेर आफ्नो कथा कारुणिक ढंगले सुनाउँदै हिँडिरहेकी थिइन् । उनको ‘रियल’ कथा सुनेकाहरूले ‘छपाक’ कारुणिक होला भन्ने ‘लख’ काट्छन् । तर, त्यो ‘लख’ सही ठहर्दैन ।

लक्ष्मीको कथाका तुलनामा फिल्मको पटकथा कमजोर छ । लक्ष्मीमाथि एसिड प्रहार हुँदाको दृश्यदेखि नै यसको तुलना गर्न सकिन्छ । एसिड प्रहार भएपछि लक्ष्मीको अनुहारवाट छाला पग्लेर तपतप झर्छ । लक्ष्मीको भनाइअनुसार प्लाष्टिकको झोलामा आगो लागेजस्तै । तर, फिल्मकी मालती (दीपिका)को छाला अस्पताल पुगुन्जेलसम्म रातो मात्र हुन्छ । लक्ष्मीको खास कथा र फिल्मकी मालतीको कथामा यही स्तरका फरक देखिदै जान्छन् । वास्तविक कथाभन्दा फिल्मी प्रस्तुति अझ कारुणिक होला भन्ने अपेक्षा पाल्नेहरूका लागि ‘छपाक’ले निराश नै बनाउँछ ।

‘ग्ल्यामर’ छवी बनाएकी अभिनेत्री दीपिकालाई सामाजिक अभियानमा सामेल हुने जाँगर कहाँबाट आयो ? यस फिल्ममा उनलाई अभिनय मात्र होइन, निर्मात्रीका रूपमा १२ करोडजति लगानी गर्ने प्रेरणा कसरी प्राप्त भयो ? यही ठाउँमा दीपिकालाई महान् भन्ने समीक्षकहरू बलिउडमा धेरै छन् । एउटा कोणवाट यो माननीय पक्ष पनि हो । तर, विषयवस्तुमाथि न्याय भयो कि भएन ? समग्रमा दर्शकका लागि रुचिकर भयो कि भएन ? खासमा फिल्मले जित्ने ठाउँ यही नै हो । यो सवालमा निर्देशक तथा पटकथाकार मेघना गुल्जार चुकेकी छिन् ।

एसिड प्रहार भएर अनुहार बिग्रेपछि पनि मालती हाँसिरहन्छिन् । उनी किन हाँस्छिन् ? कसैले सोध्दैन । यो प्रश्न र जवाफ खड्किन्छ फिल्म हेरिसकेपछि । यस्ता खड्किने प्रश्न अरू पनि छन् । जस्तो, धेरैजसो चरित्र प्रस्ट लाग्दैनन् । यस्तै–यस्तै कमजोरीले खिन्न बनाउँछ, दर्शकलाई ।

यस फिल्मका सकारात्मक सन्देश पनि छन् । जघन्य अपराधको यो शृङ्खला रोकिने अवस्थामा छैन । कानुन छ, तर न्यायका लागि लड्दालड्दै उठिवास हुने अवस्था छ । तत्कालै न्याय पाउने गुञ्जायस छैन । यो सन्देशले सम्बन्धित निकायमा रहेकाहरूलाई केही न केही चिमोट्ला नै । त्यस्तै, फिल्मको ‘ओपनिङ’ र ‘क्लाइमेक्स सीन’ सम्झनलायकका छन् । गुलजार साहेवको गीत यस फिल्मको ‘प्लस प्वाइन्ट’ हो । फिल्मको न्वारान समेत उनै गुलजारले गरेका हुन् ।

समाचार अनुसार छोरी मेघनाले निर्देशन गरेको फिल्म हेरेपछि गुलजार साहेबलाई निराश बनायो रे । आम दर्शकलाई पनि यसैगरी निराश बनाएको हुनुपर्छ । दुःखको कुरा के हुन्छ भने दर्शकमा निराशा छाएपछि अभियानमाथि फिल्म बनाउन रुचाउने निर्माता तथा निर्देशकहरूमा पनि उत्साह हराउँछ । दीपिकाहरूमा रहेको उत्साह मर्न नदिन मेघना गुलजारहरू गहिरिन आवश्यक छ ।

सम्बन्धित समाचारहरु