‘टुकुचा खोला व्यवस्थापनका लागि सरकारद्वारा २० करोड रुपैयाँ बजेट विनियोजन’

‘टुकुचा खोला व्यवस्थापनका लागि सरकारद्वारा २० करोड रुपैयाँ बजेट विनियोजन’


काठमाडौं ।
सरकारले काठमाडौं उपत्यकाको मध्य शहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ । बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लान अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताए । उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताए । मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिने गरि काम हुने स्पस्ट पारे । उनले टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताए ।

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बाँयाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एसियाली विकास बैंकसँग मिलेर काम गरिने बताए । उनले बागमती प्रदेशका सांसद केशब स्थापितले सांसद विकास कोषबाट डेमोस्ट्रेसन गरेको र त्यसलाई हेरेर एडिबिको सहयोगमा डिपिआर तयार गर्ने विषयमा छलफल भइरहेको बताए ।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीयहरु पनि उत्साहित भएका छन् । खोलामा बढ्दै गएको प्रदुषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफूहरुले पनि सहयोग गर्ने स्थानीयले बताएका छन् । स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्ने गरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफूहरुको पूर्ण सहयोग रहने बताए ।

खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डिपिआरलाई अन्तिम रुप दिइने भएको छ । सुन्दर शहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालिन योजना सहित काम गरिरहेको एकीकृत बागमती अयोजनाले जानकारी दिएको छ ।

Logo