ओमानमाथि श्रीलङ्काको १० विकेटको जित

ओमानमाथि श्रीलङ्काको १० विकेटको जित


उपाधि दावेदार श्रीलङ्काले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत ओमानमाथि १० विकेटको जित हात पारेको छ । 

शुक्रबार जिम्बावेको बुलवायो क्रिकेट मैदानमा ओमानले दिएको ९९ रनको सामान्य विजयी लक्ष्य श्रीलङ्काले मात्रै १५ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको हो ।  श्रीलङ्काका लागि ओपनर दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ खेले । साथै पाथुम निसन्का ३७ रनमा अविजित रहे । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनाएको थियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए । ओमानका लागि जतिन्दर सिंहले २१ तथा फयाज बुटले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।     

ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिरु कुमाराले तीन विकेट लिए । त्यस्तै कसुन रजितले एक विकेट झारे ।

Logo