सापकोटाको विरोधमा राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा !

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा प्रतिनिधि सभाको सभामुखका लागि प्रस्तावित अग्निप्रसाद सापकोटाको विरोधमा आवाज उठ्न थालेको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भइरहेको छ भने शुक्रबार सर्वोच्चमा रिटसमेत दायर भएको छ ।

सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिनिधि सभाको सभामुखमा एक्लो उम्मेद्वार बनेका अग्निप्रसाद सापकोटाको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन हुँदै आएको छ । शुक्रबार नै राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पनि राजीनामा दिएका छन् ।

नेकपाद्वारा सभामुखमा प्रस्तावित सापकोटाविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा व्यक्ति हत्याको मुद्दा विचाराधीन छ । यसअघि २०६८ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सापकोटालाई सूूचना तथा संचार मन्त्रीमा नियुक्त गर्ने बेला पनि उनको नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले त्यसबेला मन्त्रीमा नियुक्ति नरोक्न आदेश दिएको थियो । सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्याको अभियोग छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीद्वारा सर्वोच्चमा दायर गरिएको रिटमा फौजदारी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उम्मेद्वार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्न आदेश माग गरिएको छ । त्रिपाठीले सापकोटालाई तत्काल गिरफ्तार गर्नुपर्ने जिकिर समेत गरेका छन् ।

यता राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले राजीनामापछि जारी गरेको विज्ञप्तिमा सभामुखका उम्मेद्वार सापकोटाको नाम उल्लेख नगरे पनि स्पष्ट संकेत गरेका छन् । प्याकुरेलले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि राजीनामा दिएको बताएका छन् । उनले सम्पूर्ण संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात् गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जगेर्ना गर्न राजनीतिक दलहरू सजग रहनुपर्ने कुरामा जोड दिएका छन् । उनले भागवण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न प्रमुुख प्रतिपक्षी नेपाली कांग्रेसको ध्यानाकर्षण गराएका छन् । कांग्रेसले प्रतिनिधि सभाको सभामुखमा उम्मेद्वारी नदिएपछि सापकोटा सभामुखको एक्लो उम्मेद्वार बनेका हुन् । सभामुखमा उम्मेद्वारी नदिएकोमा कांग्रेसभित्रै नेतृत्वको आलोचना भइरहेको छ ।

प्याकुरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकालमा २ वर्ष र दोस्रो कार्यकालमा २ वर्ष विज्ञ सल्लाहकारको भूूमिका निर्वाह गरेका थिए । उनले नेपाललाई मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रूपमा स्थापित गर्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको छवी उज्यालो बनाउने सबैभन्दा ठूलो दायित्व सरकारको नेतृत्व गरिरहेको नेकपाको हुने स्मरण गराएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार