बढी भएको बिजुली मात्रै भारतमा बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै होः मन्त्री बस्नेत

बढी भएको बिजुली मात्रै भारतमा बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै होः मन्त्री बस्नेत


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बिजुलीको आन्तरिक खपत वृद्धि गर्ने योजनाका साथ सरकार लागिपरेको बताएका छन् । उनले उत्पादन वृद्धि, वितरण प्रणालीको सुधार तथा आन्तरिक खपत बढाएर बाँकी रहेको बिजुली मात्रै भारत निर्यात गर्ने सोचका साथ मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नका जवाफमा मन्त्री बस्नेतले पाँचवटा प्रदेशमा निकट भविष्यमा नै पूर्ण विद्युतीकरण हुने जानकारी दिएका हुन् । हालसम्म कूल ९६ प्रतिशत घरधुरीमा बिजुलीको सेवा पुगेको जानकारी दिँदै उनले हाल कूल जडित क्षमता दुई हजार सात सय ३२ मेगावाट पुगेको बताए ।

बिजुलीको मागमा घटबढ हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न फरक फरक योजनाका साथ लाग्नुपर्ने र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको मन्त्री बस्नेतको भनाइ छ । आगामी आवमा प्रणालीमा कूल नौ सय मेगावाट बराबरको बिजुली थप हुने जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र सुक्खायाममा समेत आन्तरिक रुपमा बिजुलीमा आत्मनिर्भर हुने बताए ।

बढी भएको बिजुली बिक्री गर्नुभन्दा अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री बस्नेतले भने, “खपत बढाउनका लागि आवश्यक योजानका साथ काम भइरहेको छ । तर, बर्खायाममा बिजुली बिक्री गर्नैपर्ने बाध्यता छ । तर, सुक्खायाममा बिजुली आयात गर्नैपर्ने आवश्यकता छ ।” 
    
उनले निजी क्षेत्रलाई पनि छिट्टै बिजुली बिक्रीका लागि अनुमति दिइने दोहोर्याए । नदी प्रवाही आयोजना बढी भएकाले बर्खाको समयमा बढी बिजुली उत्पादन हुने र सुक्खायाममा भने कूल जडित क्षमताको एक तिहाइ मात्रै उत्पादन हुने भएकाले व्यवस्थापनका लागि नयाँ सोच जरुरी रहेको मन्त्री बस्नेतले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्रीका सम्बन्धमा दुई देशका ऊर्जा सचिवबीच सहमतिपत्रमा हस्ताक्षर भएको र छिट्टै त्यसले मूर्तता पाउने ऊर्जामन्त्री बस्नेतले जानकारी दिए । उनले यो विषय बिजुली बिक्रीको विषय मात्रै नभई उत्पादनको समेत विषय भएको उल्लेख गरे ।

उनले अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पनि प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पार्दै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा न्यू बुटवल गोरखपुर प्रसारण लाइनको शिलान्याश भएको र अन्य आयोजना पनि छिट्टै अगाडि बढ्ने बताए ।

देशभित्रको आन्तरिक बजार विस्तारका लागि प्रसारण लाइन निर्माणलाई उत्तिकै प्राथमिकतामा राखेर काम अगाडि बढाइएको मन्त्री बस्नेतको भनाइ छ । उनले बूढीगण्डकी जलविद्युत् आयोजनालाई पनि छिट्टै निर्माण प्रक्रियामा अगाडि बढाइने र त्यसको आवश्यक तयारी भइरहेको जानकारी दिए । अर्धजलाशय र जलाशययुक्त आयोजनाको विद्युत् खरिद सम्झौता भइरहेको र नदी प्रवाही आयोजनाका बारेमा आवश्यक निर्णय लिइने उनले स्पष्ट पारे ।

Logo