टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपालमा लन्च हुँदै

टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपालमा लन्च हुँदै


नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक लन्च गर्ने तयारी गरेको छ।

नेपालमा उपलब्ध हुने टीएम१ ईभी ट्रक विशेष गरी नेपाली बजारको लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ। यसको परीक्षण सकिएको र नेपालको चुनौतीपूर्ण भू–भागमा विगत २–३ महिनामा व्यापक सफल परीक्षणहरू पार गरेको कम्पनीले बताएको छ ।

तीन महिना लामो परीक्षणको समयमा नेपालको विभिन्न प्रकारको बाटोमा क्षमता प्रमाणित गर्दै नेपालको बाटोको लागि उपयुक्त भएको विश्वस्त भएपछि नेपालमा लन्च गर्न लागेको कम्पनीका सेल्स हेड नविन आचार्यले जानकारी दिए। 

परीक्षण पश्चात टीएम१ एक बजार परिवर्तकको रूपमा उभिएको छ, जसले यसको उपभोक्ताहरुलाई पर्याप्त बचत प्रदान गर्दै असाधारण प्रदर्शन प्रदान गर्ने बताइएको छ। १२५० केजी लोड क्यापासिटी र सिंगल चार्जमा २८० किमी रेन्ज हुनुका साथै नेपाली बजारमा लामो समय परीक्षणको नतिजा स्वरूप सम्पूर्ण लाभ नेपाली व्यबसायीले लिन पाउने कम्पनीको भनाइ छ।

‘फोटोनको टीएम१ नेपालको अटोमोटिभ उद्योगमा एक उल्लेखनीय कोसेढुङ्गा हो, जसले दिगो यातायात समाधानहरूप्रति कम्पनीको प्रतिबद्धता देखाउँछ। यस ग्राउन्डब्रेकिङ इनोभेसनको साथ फोटोनले नेपालमा विद्युतीय ट्रकिङको अनुभव गर्ने तरिकामा आमुल परिवर्तन गर्दैछ, राष्ट्रलाई हरियाली र थप समृद्ध भविष्यतर्फ डो-याउँदैछ।’ विज्ञप्तिमा भनिएको छ।

Logo