भुस्याहा कुकुरलाई खाना

मान्छेका रहरहरू अनेक हुन्छन् । कमाएका सम्पत्ति कसरी खर्च गर्ने भन्ने कुरा पनि हरेक मान्छेको आफ्नै आफ्नै सोच र रहरले तय गर्ने कुरा हुने रहेछ । कोही आफूले कमाएको अथाह पैसा गरिबहरूको लागि खर्च गर्छन् । कसैले गरिबका घर बनाउँछन्, कसैले गरिबका सन्तानलाई पठनपाठनको व्यवस्था मिलाउँछन् या यस्तै यस्तै सामाजिक काममा आफ्नो कमाइको निश्चित प्रतिशत खर्च गरेर आत्मसन्तुष्टि प्राप्त गर्दछन् । काेही अशक्तको उपचार गरिरहेका भेटिन्छन्, त काेही अपाङ्गहरूको लागि सहाराका सामग्री दान गरिरहेका हुन्छन् ।

कसैको सोच अलिकति फरक हुन सक्छ । कसैले आफू गरिब हुँदाहुँदै पनि आफूले कमाएको अलिकति पैसा छाडा जनावरहरूका लागि खर्च गर्छन् । काठमाडाैँको नयाँ बजार क्षेत्रमा यस्तै छाडा कुकुर जसलाई पहिले भुस्याहा कुकुर भनिन्थ्यो तर अचेल सामुदायिक कुकुर भनेर लेख्ने चलन सुरु भएको छ त्यस्ता कुकुरहरूलाई खाना खुवाउने प्रचलन बढ्दै गइरहेको भेट्न सकिन्छ ।

हरेक दिन गल्कोपाखाबाट भित्र या कपुर धाराबाट भित्र छिरिसकेपछि उता म्हैपीको मन्दिरसम्म यता कुमारी चोकदेखि सिख धर्मावलम्बीहरूको गुरुद्वारा या विष्णुमती किनारसम्म कैयौँ टोलीहरू बिहानै त्यस्ता सामुदायिक कुकुरहरूलाई खाना खुवाइरहेको अवस्थामा भेट्न सकिन्छ ।

सडकमा दुःख पाइरहेका जनावरहरूलाई खानाको व्यवस्था गर्नु एकदमै धर्मको काम हो त्यसमा दुईमत छैन अझ आफूले मेहनत गरेर कमाएको पैसा त्यस्तो काममा खर्च गरेर सन्तुष्ट हुनु या त्यसरी अघाएका प्राणीहरू हेरेर रमाउनु त्यो बेग्लै आनन्दको विषय हुन सक्छ, यो समाजसेवा या पशु सेवाको सराहना गर्नुपर्दछ ।

तर हरेक कुराको यौटा नकारात्मक असर पनि हुने गर्दछ भन्ने कुरामा भने हामीले ख्याल गर्नुपर्ने रहेछ । केही दिन अगाडिको कुरा हो । म पोखरा बाट काठमाडौँ आइपुग्दा रातको लगभग बाह्र बजेको थियो । मित्र नगरबाट ओरालो लाग्दा त्यहाँ रात परेको छनक कतै थिएन । बसपार्क को रात्रिकालीन रमाइलो उत्कर्षमा थियो । दोहोरी रेस्टुरेन्टहरू भर्खर बन्द हुन लागेका थिए । त्यहाँ बाट ग्राहक र स्टाफ कलाकार निस्कने क्रम सुरु भएको थियो ।

मैले ट्याक्सी लिएर रेडन कलेज नजिकै म बस्ने ठाउँमा जानलाई कोसिस गरेँ तर त्यो समय नै त्यस्तै बिजनेसको थियो । नजिकै एक दुई किलोमिटरको दुरीमा जानलाई ट्याक्सी ड्राइभर अनिच्छुक देखिएपछि मैले सोचेँ आखिर यहीँ नजिकै त हो पैदल नै गए पनि दस मिनेटमा पुगिहाल्छु, यस्तै सोचेर म अगाडि बढेँ पैदलै ।

डराउन पर्ने केही थिएन । म्हैपी पुल क्रस गर्ने बित्तिकै प्रहरी बिट छ । शान्ति सुरक्षा बनाइराख्न नेपाल प्रहरी त्यहाँ चौबिसै घण्टा तैनाथ रहन्छन् । प्रहरीको प्याट्रोलिंग टिम पनि दौडिरहेको छ । रात परेको आभास नै भएको छैन भने ट्याक्सीमा किन खर्च गर्नु, आखिर मसँग यौटा झोलासम्म पनि थिएन । रित्तै पैदल नै अगाडि बढेँ ।

बसपार्क बाट पाँच मिनेटको पैदल दुरीमा रहेको मेरो वासस्थान पुग्नलाई मैले कुनै किसिमको असुरक्षा महसुस गर्नुपर्ने त्यहाँ कुनै कारण नै थिएन । बसपार्कका दर्जनौँ दोहोरी रेष्टुरेन्ट या डिस्कोथेकमध्येको अन्तिम मनोरंजनस्थल पुलिस बिटबाट मुस्किलले चार सय मिटर टाढा होला । यहाँको रौनक पुलिस बिटसम्मै आइरहेको थियो । म पुलिस बिटलाई दाहिने पार्दै देब्रे लागेँ जुन गल्ली सरकारी धारा पुगेर सामाखुसी रोडमा जोडिन्छ ।

बाटो उज्यालो छ । स्ट्रिट लाइट पनि बलिरहेका छन् तर त्यहाँ यति धेरै भुस्याहा कुकुरहरू छन् कि तिनीहरू एक तमासले भुकिरहेछन् कर्कश आवाज निकालेर, अनि कार या मोटर बाइकको पछाडि भुक्दै दौडिरहेछन् । कारमा हिडेकाहरु त्यति असुरक्षित नभए पनि बाइकमा हिड्नेहरु अत्यन्तै डराएर त्यो गल्ली क्रस गर्नुपर्ने अवस्था रहेछ । म थिएँ पैदल ।

मलाई देख्ने बित्तिकै केही कुकुरहरूले घेरा हालेरै भुक्न सुरु गरे । म आत्तिएँ । दौडेर जाने ठाउँ कतै थिएन । अगाडिबाट पनि आइरहेछन् केही पछाडिबाट अगि नै भुकिसके । दाहिने छिर्ने यौटा गल्ली छ त्यताबाट बेत्तोड़ले दौडिँदै दुइटा कुकुर आइरहेछन् ।

मैले के गर्ने कसो गर्ने केही सोच्न सकिन । अगाडि यौटा इँट्टा देखेँ झटपट त्यो उठाएर यौटा कुकुरलाई ताकेँ तर कुकुर खान झन् नजिक आयो । मलाइ लाग्यो अब यसले मलाई पक्कै टोक्छ । त्यही मेरो अन्तिम हतियार थियो मैले त्यो कुकुरलाई लाग्ने गरी त्यो इँटले प्रहार गरेँ ।

संयोगवश त्यो इँटाको चोटले होला त्यो कुकुर कुइँकुइँ गरेर भाग्यो । यौटा भागेपछि अरु पनि भाग्दा रहेछन् मैले त्यति बेला थाहा पाएँ । म धेरै अगाडि पुगुन्जेल ती कुकुरहरू जोड जोडले भुकिरहे । म निकै डराएँ । धन्न टोकेनन् कुकुरले । यौटाले मात्र झम्टेको भए त्यहाँ मलाई ती सबैले टोक्ने र मलाई घाइते बनाउने सम्भावना थियो । अस्ति मात्र मेरा एक जना आफन्त त्यस्तै भीडको फेला परेछन् । उनलाई पाँचवटा कुकुरले लखेटेर टोकेछन् । उनी अहिले रेबिज सुई लगाएर घाउको उपचार गरिरहेछन् ।

त्यो टोलका सबै कुकुर सित्तैको मासु खानाले एकदम मोटाएका छन् । खाना खोज्न नपर्ने, मेहनत बिनाको खानाले जिउमा तागत थुप्रिएको छ त्यसैले बाटो हिँड्ने बटुवालाई यसरी झम्टिने गरेका छन् । त्यस्ता सामुदायिक कुकुरलाई खाना खुवाउने जिम्मेवारी राम्रोसँग बहन गर्ने समाजसेवी जस्तै तिनीहरूको व्यवस्थापनतिर पनि समयमै ध्यान नदिने हो भने म्हैपीको गल्लीमा ‘कुकुरद्वारा मान्छेको सिकार’ भन्ने समाचार छिट्टै पढ्न पाइयो भने पनि आश्चर्य नमाने हुन्छ । यसमा सम्बन्धित निकायको छिटै ध्यान जानुपर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार