कोशी प्रदेशसभाको बैठक आजका लागि स्थगित, शुक्रवार बस्ने

कोशी प्रदेशसभाको बैठक आजका लागि स्थगित, शुक्रवार बस्ने


कोशी प्रदेशसभाको बैठक आजका लागि स्थगित भएको छ ।

आधा घण्टाको लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक राति आठ बजे बस्ने भनिएको थियो तर, सत्तारूढ दल नेकपा एमालेको आग्रहमा भोलि ११ बजे सम्मका लागि स्थगित गरिएको हो ।

विश्वासको मत लिने क्रममा दलका नेताहरूले बोलेका विषयमा जवाफ दिन आवश्यक पर्ने तथ्याङ्क लिन भन्दै संसद् सचिवालयबाट निस्किएका मुख्यमन्त्री हिक्मत कार्की नफर्कीएपछि विशेष कारणवश भन्दै बैठक रोकिएको थियो । 

एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको संकट उत्पन्न भएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन्। एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन्।  राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ। कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६,नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन्। 

Skip This
Logo