पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुँदै

पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुँदै


आज सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुँदैछ। त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पोखरा जाने कार्यक्रम यसअघि नै तय भइसकेको छ।

गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको पोखरामा भेला हुन लागेकाे हाे। उनीहरु दुई दिनसम्म पोखरामा संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफल गर्नेछन्।

तर, कोशी प्रदेशका मुख्यमन्त्री आउने नआउने भन्ने बारेमा अन्यौल कायमै रहेको छ। आज कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि पोखरामा हुने यस कार्यक्रममा उनकाे उपस्थिति अन्यौलमा परेको हो। 

गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्यालका अनुसार यसअघि जेठ १० का लागि तोकिएको भेला प्रावधिक कारण सम्पन्न हुन नसके पनि यसपटक बोलाइएको भेला भने शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्नेछ। 

आजबाट सुरु हुने सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला दोस्रो हो। पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा पहिलो पटक मुख्यमन्त्रीहरुको भेला भएको थियो।

Logo