बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना


बझाङबाट काठमाडौं आउँदै गरेको नाइट बस कपिलवस्तुमा दुर्घटना भएको छ। ना ६ ख १३३९ नम्बरको बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी  मिन बहादुर घलेले जानकारी दिए। उनका अनुसार बसमा ४० यात्रु सवार थिए।

घाइतेहरूमा चार पुरूष र दुई महिला छन्। तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको डिएसपी घलेले जानकारी दिए। उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गति र मोड भएका कारण दुर्घटना भएको डिएसपी घलेले बताए। दुर्घटना भएको सूचना प्राप्त भएको पाँच मिनेटमै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको थियो।  सकुशल रहेका यात्रुहरूलाई अर्को बस चढाएर काठमाडौं पठाइएको छ।

दुर्घटनापछि चालक भने फरार छन्। प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएकाे छ। 

Logo