समूह विजेता बन्न मलेसियालाई १८४ रनको लक्ष्य

समूह विजेता बन्न मलेसियालाई १८४ रनको लक्ष्य


मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई नेपालले १ सय ८४ रनको लक्ष्य दिएको छ।  बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएकाे हाे।

नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय ईनिङ खेले।  नेपालको १५ रन हुँदा पहिलो विकेट गुमेको थियो। ओपनर निरज कुमार ६ बलमा ८ रन बनाउँदै आउट भएका थिए।

दोस्रो विकेटका लागि दिप कुमार र सुर्यांशु कोईरालाले ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए। सुर्यांशुले २० बलमा २३ रन बनाए । दिप कुमार ४१ बलमा १५ रन बनाउँदै आउट भए। 

त्यसपछिका खेलाडीहरु क्रिजमा जम्न सकेनन्। आठौं विकेटका लागि नरेन भट्ट र अशोक धामीका बीचमा ३४ बलमा ४५ रनको महत्वपूर्ण साझेदारी भएको थियो। नरेन भट्टले ४३ बलमा २९ रन बनाए।

९१ रनमा ७ विकेट गुमाएको नेपालका लागि धामीको अर्धशतकले बलियो योगफलसम्म पुर्याउन मद्दत गर्यो।  नवौं विकेटका लागि कृतिक कामतसँग मिलेरले धामीले ३१ बलमा ३९ रनको महत्वपूर्ण साझेदारी गरे । कामतले १७ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए। 

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाईकाल र मुहम्मद अक्रमले समान २/२ तथा मोहम्मद फतुलले १ विकेट लिए। नेपाल मलेसियामाथि जितका साथ समूह विजेता बन्दै सेमिफाइनल खेल्न चाहन्छ।

Logo