दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटबाटै बाहिरियो

दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटबाटै बाहिरियो


दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटबाट बाहिरिएको छ । शनिबार भएको सुपर सिक्सको पहिलो खेलमा वेस्टइन्डिज स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको हो । 

हरारे स्पोर्टस् क्लबमा वेस्टइन्डिजले जितका लागि दिएको १८२ रनको सामान्य लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा मात्रै ३ विकेट गुमाएर पूरा गरेको हो । स्कटल्यान्डका लागि म्याथु क्रसले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले । उनी १०७ बल खेल्दै अविजित पनि रहे । साथै ब्राण्डन एमसीमुल्लनले ६९ रनको योगदान दिए भने जर्ज मुन्से रनले १८ रन जोडे । 

बलिङमा वेस्टइन्डिजका जेसन होल्डर, अकिल होसैन र रोमारियो शेर्फडले एकएक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटिएको हो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४५ रन जोडे । साथै रोमारियो शेर्फडले ३६ रन, ब्रान्डन किंगले २२ रन तथा निकोलस पुरनले २१ रन बनाउनुबाहेक अन्य खेलाडी चल्न सकेनन् । 

बलिङतर्फ स्कटल्यान्डका लागि ब्रान्डम म्याकमुलनले ३ विकेट लिए भने क्रिस ग्रेभ, क्रिस सोल र मार्क वाटले समान २/२ विकेट तथा सफियान सरिफले १ विकेट लिए । 

यो हारसँगै वेस्टइन्डिजले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप गुमाउने भएको छ । वेस्टइन्डिज समूह ए बाट सुपर सिक्समा अंक विहीन हुँदै पुगेपछि विश्वकप यात्रा कठिन बनेको थियो । वेस्टइन्डिजले समूह चरणमा नेपाललाई १ सय १ र अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । जिम्बावेसँग ३५ रन र नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

Logo