युएई १८१ रनमै अलआउटः सन्दीप लामिछानेकाे नाममा ३ मेडनसहित ३ विकेट

युएई १८१ रनमै अलआउटः सन्दीप लामिछानेकाे नाममा ३ मेडनसहित ३ विकेट


नेपाललाई आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा जितका लागि युएईले सामान्य रनको लक्ष्य प्रस्तुत गरेको छ । 

जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा अलआउट हुँदै १८१ रनमै समेटिएको हो । युएईका लागि कार्यवाहक कप्तान वृत्य अरविन्दले सर्वाधिक ४४ रन बनाए । मोहम्मद वासिम नहुँदा उनलाई कप्तानको जिम्मेवारी दिइएको हो । 

त्यस्तै, रोहन मुस्तफाले ३५ रन जोड्दा बसिल हमिद २९ रन तथा आर्यन्स शर्मा २८ रनमा पवेलियन फर्किए । अन्य खेलाडीले क्रिजमा टिकेर राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २३ रन खर्चिँदै ३ मेडनसहित ३ विकेट लिए । विश्वकप छनोटको समूहचरणमा उनको बलिङ नचल्दा नेपाली टोलीले ठूलो घाटा व्यहोर्नुपरेको थियो । साथै करण केसीले पनि समान ३ विकेट लिए भने दिपेन्द्रसींह ऐरी, गुल्सान झा र प्रतिश जिसीले समान एकएक विकेट लिए । 

Logo