बगानको कथा मन परेर निर्माणमा सहकार्य गरेँः करिश्मा मानन्धर

बगानको कथा मन परेर निर्माणमा सहकार्य गरेँः करिश्मा मानन्धर


अभिनेत्री करिश्मा मानन्धरको सुन्दरताको चर्चा धेरै नै हुने गर्छ। सयौं चलचित्रमा अभिनय गरिसकेकी करिश्मा निर्मात्री पनि हुन्। करिश्मा आउँदो असार २९ मा प्रदर्शन हुने चलचित्र ‘बगान’ मा दुवै भूमिकामा छिन्। उनले अभिनयसँगै निर्माणमा समेत सहभागिता हुनुमा कथालाई कारक मानेकी छिन्। 

‘हामीले काम गर्दै जाँदा निर्माणमा समेत सहकार्य गर्‍याैँ। सरोज (सरोज खनाल) डेब्यु र कथावस्तु राम्रो भएकाले निर्माणमा समेत जोडिएँ’, उनले भनिन्। उनले चलचित्रमा एकल आमाको भूमिका निर्वाह गरेकी छिन्। विशेषत चलचित्र नै उनी र उनको छोरी (प्रमिला कार्की) कै वरिपरि घुमेको छ। एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई प्रस्तुत गरिएको भूमिकालाई महसुश गर्न करिश्माले आमालाई नै सम्झिइन्। 

‘मेरो आमामार्फत् बुझेको कुराहरुलाई यसमा प्रयोग गरेकी छु। यो एकल महिलाको जीवन, उसले समाज र परिवारमार्फत् राख्ने अपेक्षामा केन्द्रित छ। केही अव्यक्त तथ्यलाई समेत यसमा प्रस्तुत गरिएको छ’,करिश्माले भनिन् । 

सार्वजनिक गीतसङ्गीतमार्फत् करिश्माले चर्चा बटुलिरहेकी छिन्। उनको सुन्दरतासँगै पात्रलाई जीवन्त बनाउन गरेको प्रयासले सार्थकता पाएको छ। निर्देशक सरोज खनालले पनि अभिनेत्री मानन्धरको सुन्दरता अभिनयमार्फत् व्यक्त भएको बताए। उनले भने, ‘करिश्मा निकै राम्रो कलाकार हुन्। म उनको को–स्टार भएर काम गरेकाले उनको अभिनय क्षमतासँग परिचित थिएँ। त्यसैले यसमा उनको क्षमतालाई बाहिर ल्याउने कोसिस गरेको छु।’

अभिनेत्री मानन्धरले पनि धेरै चलचित्रमा कमर्सियल रुपमा प्रस्तुत भएको बताइन्। ’निर्देशककै अनुसार कलाकार प्रस्तुत हुने गरेका छन्। हामीले काम गर्दा त्यहीअनुरुप गरेका थियौं’,करिश्माले भनिन्,‘बगानमा कालाकार र मेरो को–स्टार रहिसकेका सरोज निर्देशक भएपछि झनै सहज भयो। उनले अभिनयको दुवै पाटोलाई बुझेकोले पनि पात्रमा जीवन भर्ने कोसिस गर्‍याैँ।’

उनले चलचित्र ’बगान’ सपरिवारले हेर्नु पर्ने बताइन्। परिवार र समाजको बीचमा एक्लै रहकी एकल महिलाको कथा चलचित्रमा प्रस्तुत गरिएको छ। ‘हामीले यसलाई परिवारले एकसाथ हेर्नुहोस् भनेर तयार गरेका छौँ। एउटा परिवारले अन्य सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ’, करिश्माले भनिन्, ‘यसमा समस्या मात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ। त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नुहुनेछ।’

‘बगान’मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्। स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेका छन्। प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ।

Logo