गुल्सानको महत्वपूर्ण अर्धशतकमा नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

गुल्सानको महत्वपूर्ण अर्धशतकमा नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य


नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेष्ट टोली आयरल्यान्डविरुद्ध चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । 

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको हो । नेपालका लागि नवौं नंबरमा मैदानमा आएका गुल्सान झाले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ खेले । सो क्रममा उनले ४२ बल खेल्दै ४ चौका र ३ छक्काको मदतमा रन जोडे । उनको यो टेष्ट टोली आयरल्यान्डविरुद्ध पहिलो अर्धशतक हो । 

त्यस्तै, सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको मदतमा ३२ रन जोडे । संकटमा रहेको नेपालका लागि सन्दीप र गुल्सानले सर्वाधिक ८० रनको साझेदारी गरेका थिए । 

त्यसअघि नेपालले ३७ ओभरमा १६९ रन बनाउँदै ७ विकेट गुमाएको थियो । ३७ ओभरको दोस्रो बलमा राम्रो ब्याटिङ गरिरहेका कुशल मल्ल आउट भएका हुन् । उनलाई ४४ रनमा एमसीकार्थीले क्याचआउट गराएका हुन् । 

खेलकाे ३६ ओभरको अन्तिम बलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरी शून्य रनमै आउट भएका थिए । उनको महत्वपूर्ण अर्धशतकीय इनिङमा नै यसअघि युएईविरुद्ध नेपालले जित दर्ता गरेको थियो । तर,  आज उनको ब्याटिङ नै चल्न पाएन । भीम सार्की २० रनमा एमसीकार्थीबाट नै पवेलियन फर्किँदा ओपनर अर्जुन साउद महत्वपूर्ण अर्धशतकबाट चुके । २५ ओभरको अन्तिम बलमा अर्जुन ४८ रनमा डेलानीको बलमा आउट भएका हुन् ।

यसअघि २२ ओभरको पाँचौ बलमा कप्तान रोहितकुमार पवेलियन फर्किएका थिए । उनी ३५ बलमा २ चौका र १ छक्काको मदतमा २८ रन बनाउँदै कर्टिश क्याम्फरको बलमा क्याच आउटको शिकार बने । नेपालले आठौं ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको थियो । उनलाई ८ रनमा क्रेग योङले क्याच आउट गराएका थिए । साथै १२ ओभरको तेस्रो बलमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए । 

बलिङमा र्माक अदैर, व्यारी एमसीकार्थी र क्रेग योङले समान २/२ विकेट लिए भने कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एण्डी एमसीब्राइनको नाममा समान एकएक विकेट रह्यो । 

Logo