कलाकार रोविनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान [भिडियाे]

कलाकार रोविनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान [भिडियाे]


गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधनबारे अनुसन्धान भइरहेको छ । मंगलवार बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनास्थलमा गरेको अनुसन्धानले उनको मृत्यु हृदयघातका कारण भएको प्रारम्भिक निष्कर्षमा देखिएको प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए । तर पोष्टमार्टम रिर्पोट नआई यसै भन्न नसकिने उनको भनाई छ । 

मंगलबार साँझ ६ बजे रोविनको परिवारजनको फोन नउठाएको भन्दै प्रहरीमा सूचना आएलगत्तै चन्द नेतृत्वको एक टोली उनको घर पुगेको थियो । 

प्रहरीका अनुसार गायकको शव भेटिँदा उनको कोठाको ढोका भित्रबाट लक गरिएको  थियो । प्रहरीले रोविनलाई कोठामा देखेपछि ढोकाको लक फोरेर उनलाई अस्पताल लगेको हो । तर, उनको शरीर घटनास्थलमै चिसो भैसकेको प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए।  

उनले भने, ‘हामी घटनास्थल पुग्दा उनी अचेत अवस्थामा थिए, उनको शरीर चिसो भैसकेको थियो । र पनि हामीले बचाउने प्रयासमा अस्पताल पु-याएका हौं । घटनास्थलमा शंकास्पद कुरा केही देखिएन । प्रारम्भिक अनुसन्धानमा डाउट गर्ने ठाउँ छैन्,बाँकी पोस्टमार्टम रिपोर्ट आएपछि नै भन्न सकिन्छ ।’ 

कलाकार रोविनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीले जानकारी दिएको छ । रोविनको मुगलान एल्बम निकै रुचाईएको मध्येको एक हो । उनले दर्जनौँ गीतमा आफ्नो स्वर दिएका त छन् नै ‘छड्के’ चलचित्रमा समेत अभिनय गरेका थिए  । 

भिडियाेकाे लागी यस लिंकमा क्लिक गर्नुहाेस्

Logo