एलिजा गौतमले गरिन् सक्रिय राजनीति त्यागेको घोषणा

एलिजा गौतमले गरिन् सक्रिय राजनीति त्यागेको घोषणा


अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन्। देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन्।

आगामी दिनमा समाजसेवामा लाग्ने पनि उनले बताएकी छन्। धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षारोपण गरेको र १० वटा साबेल उपहारस्वरूप प्रदान गरेको पनि उल्लेख गरेकी छन्। उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन्।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आज उहाँको (मेयर) श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ। म निकै खुशी छु। सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ। श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु। यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु। धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ, दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयरको काम हेर्नसमेत उनले अनुरोध गरेकी छन्। उनले अगाडि भनेकी छन्, ‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ। मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन्। अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु।’

Logo