थ्रेड सार्वजनिकपछि मस्क र जुकरबर्ग आमनेसामने हुँदै

थ्रेड सार्वजनिकपछि मस्क र जुकरबर्ग आमनेसामने हुँदै


एलन मस्क र मार्क जुकरबर्ग दुवै विश्वका सर्वाधिक धनी र सफल व्यवसायी हुन् । जुकरबर्ग फेसबुक र इन्ट्राग्राम जस्ता सामाजिक सञ्जालमा राज गर्छन भने मस्क टेस्लाका मालिक र ट्वीटर किनेर चर्चामा आएका छन् । तर अहिले यी दुवै मिक्स मार्सल आर्ट फाइटका लागि आमनेसामने हुने अवस्थामा पुगेका छन् । 

एलन मस्कले कुस्ती खेल्न चुनौती दिएपछि मार्क जुकरबर्गले सन् २०१२ यता पहिलो पटक ट्वीट गरेका छन् । ट्वीटरलाई प्रतिष्पर्धा गर्न सामाजिक सञ्जाल थ्रेड सार्वजनिक गरेको केही घण्टामा सीईओ जुकरबर्गले दशक लामो अवधिपछि पहिलोपटक ट्वीट गरेका हुन् ।

उनले बिहीबार एलन मस्कलाई लक्षित गर्दै स्पाइडर म्यान आपसमा भिडिरहेको मिम शेयर गरेका छन् । ट्वीटरको पोस्टमा भने कुनै क्याप्सन राखिएको छैन । यसलाई ट्वीटर र थ्रेडबीचको प्रतिस्पर्धा सुरु भएको घोषणाको रूपमा समेत लिन थालिएको छ । 

मङ्गलबार जुकरबर्गले ट्वीटर सिद्ध्याउने गरी प्रतिस्पर्धीको रूपमा थ्रेड उतारेका थिए । मेटाले थ्रेडलाई एउटा छुट्टै एपको रुपमा ल्याएको भए पनि यो एप इन्स्टाग्राम अकाउन्टमा आधारित छ ।

खास तवरमा थ्रेड ट्वीटर जस्तै छ । एपको मुख्य फिडमा इन्स्टाग्रामको एल्गोरिदमले सुझाएका साथै फलो गरिएका अकाउन्टका पोस्टहरू देखिन्छन् । त्यस्ता पोस्टहरूलाई तपाईंले रिपोस्ट गर्न र त्यसमा कमेन्ट गर्न सक्नुहुन्छ ।

हाल थ्रेडमा फोटो तथा पाँच मिनेट लामो भिडिओ सहित ५ सय क्यारेक्टर लामो पोस्ट गर्न सकिन्छ । थ्रेडलाई गहिरो गरी इन्स्टाग्राम अकाउन्टसँग गाँसिएकाले थ्रेडमा गरेको पोस्टलाई तुरुन्तै इन्स्टाग्रामको स्टोरी तथा फिडमा राख्न सकिन्छ । यो एपमा तस्वीर, शर्ट, उच्च गुणस्तरका भिडिओ समेत पोस्ट गर्न सकिन्छ । 

"यो एपमा एक अर्बभन्दा बढी मानिसले सार्वजनिक कुराकानी गर्न सक्नेछन्," थ्रेड सार्वजनिक भएपछि एक पोस्ट गर्दै जुकरबर्गले भनेका छन्, “ट्वीटरसँग यो अवसर थियो, तर गर्न सकेको छैन । आशा छ हामी त्यो गर्नेछौं ।" यो एप प्रारम्भिक चरणमा विश्वका १ सय देशमा उपलब्ध भए पनि युरोपमा भने छैन ।

Logo