शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो

शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक सङ्घ-सङ्गठन विरोध गर्दै आएका थिए ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा शनिबार भएको छलफलका क्रममा नगर कार्यपालिकाको आगामी बैठकबाट नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ)लाई निष्क्रिय गर्ने, आगामी नगर सभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने, शिक्षकहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने र नगरपालिका र शिक्षक सङ्घ–सङ्गठनबिच भएको सम्झौतालाई पूर्णरूपमा पालना गर्ने सहमति भएको छ । नगरपालिकासँग भएको सहमतिपछि आफूहरूको आन्दोलनसमेत फिर्ता भएको शिक्षकले बताएका छन् । 

छलफलमा नगरप्रमुख भट्टराई, उपप्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडा नं १ का वडाध्यक्ष नवराज राई, वडा नं ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेश घिमिरे, शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मा, नेपाल शिक्षक सङ्घका सङ्घीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मीनबहादुर दाहाल, नेपाल शिक्षक महासङ्घ खोटाङका सहअध्यक्ष झमप्रसाद आचार्य, नेपाल शिक्षक सङ्घका उपाध्यक्ष मुना चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष टङ्क कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका उपाध्यक्ष नूरकाजी सैँजू, नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष यादवप्रसाद घिमिरे, नेपाल शिक्षक सङ्घ नगर अध्यक्ष नवराज केसी, प्राविधिक सहायक प्रेम केसी र शिक्षक सुवासचन्द्र राईको उपस्थिति रहेको थियो। सहमति पत्रमा वडा नं १ का वडाध्यक्ष राईले भने हस्ताक्षर गरेका छैनन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लागू गरेको नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ)मा वडाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था छ। उक्त व्यवस्था शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ सँग बाझिएकाले संशोधन वा खारेजीको माग गर्दै जिल्लास्थित शिक्षकहरूले पटक-पटक विरोध गर्दै आएका थिए । 

आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्लास्थित सबै शिक्षक सङ्घ÷सङ्गठनले तत्कालीन नगरप्रमुख रिजाल र उपप्रमुख राईको पालामा पारित गरिएको नियमावली संशोधन गर्न माग गर्दै गत २०७९ पुस १ गतेदेखि आन्दोलन गर्दै आएको थियो । यसअघि नगरपालिका र शिक्षकबीच भएको छलफल तथा वार्ताका क्रममा गत असार १० गते सम्पन्न नगर सभाबाट उक्त बुँदा संशोधन तथा खारेज गर्ने बताइए पनि कार्यान्वयन नभएको भन्दै शनिबार नगरप्रमुख भट्टराईलाई ज्ञापनपत्र बुझाइएको थियो । 

ज्ञापनपत्र बुझ्नुहुँदै नगरप्रमुख भट्टराईले शिक्षकसँग भएको सहमति दुवै पक्षले पूर्णरूपमा पालन गरिने बताए । ज्ञापन पत्रमा नेपाल शिक्षक सङ्घका सङ्घीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मीनबहादुर दाहाल, नेपाल शिक्षक सङ्घका उपाध्यक्ष मुना चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष टङ्क कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका उपाध्यक्ष नूरकाजी सैँजू र नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष यादवप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन्। 

Skip This
Logo