पानी नपर्दा सर्लाहीमा सात प्रतिशत मात्रै रोपाइँ

पानी नपर्दा सर्लाहीमा सात प्रतिशत मात्रै रोपाइँ


असार सकिनै लाग्दा सर्लाहीमा करिब सात प्रतिशत मात्रै धान रोपाइँ भएको छ । 

पर्याप्त वर्षा हुन नसक्दा जिल्लामा सिँचाइ सुविधा रहेको क्षेत्रमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द यादवले जानकारी दिए । उनका अनुसार बाग्मती र मनुष्मारा सिँचाइ नहरको पानी लाग्ने क्षेत्रमा मात्रै धान रोपाइँ सुरु भएको हो ।

“सिँचाइ सुविधा रहेको क्षेत्रमा मात्र धान रोपाइँ भएको छ, एक झर पर्याप्त पानी परे जिल्लाका सबै क्षेत्रमा रोपाइँ सुरु हुने थियो”, ज्ञान केन्द्रका प्रमुख यादवले भने । ४३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने सर्लाहीमा अधिकांश क्षेत्रमा आकाशे वर्षा कुरेर रोपाइँ गरिन्छ । 

बाग्मती र मनुष्मारा सिँचाइको नहरबाट केही  क्षेत्रफलमा सिँचाइ हुने भए पनि धेरै क्षेत्रमा आकाशे वर्षाको भर पर्नुपर्छ । यो वर्ष जेठको खडेरीले धानको ब्याड सुकेर नष्ट भएपछि अधिकांश किसानले दोहोर्याएर ब्याड राख्नु परेका कारण पनि समयमै धान रोपाइँ सुरु हुन नसकेको स्थानीयवासी भोला यादवले बताए । उनका अनुसार दोहोर्याएर राखेको धानको ब्याड पनि रोप्नका लागि तयार भइसकेको छ तर पर्याप्त आकाशे वर्षा हुन नसक्दा कतिपय स्थानमा धान रोपाइँ सुरु नै हुन सकेको छैन ।

जिल्लाको लखन्देही, कालिञ्जोर, फूलजोर, बाँके, झिमलगायत खोलामा किसानले बाँध कसेर सिँचाइ गर्ने गरेका भए पनि यस वर्ष पर्याप्त पानी नपर्दा यी खोलाहरु पनि सुक्खा छन् । रोपाइँका लागि पर्याप्त आकाशे वर्षाको प्रतीक्षामा बस्दाबस्दै असार सकिन लागेका अर्का किसान राजीव महतोले बताए । केही किसानले पम्पसेट चलाएर पनि रोपाइँ गर्न सुरु गरेका भए पनि अधिकांश किसानले खेतमा जम्ने गरी पानी परेपछि मात्रै रोपाइँ सुरु गर्ने महतोले बताए । 

बिजुली पुगेको ठाउँमा बत्तीबाट पम्पसेट चलाउन सहजै हुन्छ तर बत्ती नपुगेको ठाउँमा डिजेलबाट चलाउँदा महँगो पर्न जाने गरेको हिरेन साहले बताए । यस क्षेत्रमा केही दिनदेखि हल्का वर्षा भइरहे पनि बग्ने गरी पानी पर्न सकेको छैन ।

सामान्य पानीले मकै, उखुलगायत बालीलाई भने फाइदा नै गरेको किसानहरुले बताएका छन् । धान रोपाइँका लागि प्रतीक्षा गरेअनुसार पर्याप्त पानी नपर्दा जिल्लाका किसान निराश देखिएका छन् । जिल्लाका धेरैजसो किसानले रोपाइँ गर्न आली लगाउने र भित्ता ताछने काम गरिसकेका छन् भने कतिपयले त्यसका लागि मजदुर नै पाएका छैनन् । 

अहिले सबैतिर धमाधम रोपाइँ हुनुपर्नेमा पानी पर्ननसक्दा खेतीयोग्य फाँट सुक्खा देखिएका छन् ।

Logo