नेदरल्यान्ड्सलाई सस्तैमा समेट्दै श्रीलंका च्याम्पियन

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्दै श्रीलंका च्याम्पियन


श्रीलंका आइसिसी विश्वकप छनोट २०२३ को च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा नेदरल्यान्ड्समाथि १२८ रनको सानदार जित दर्ता गर्दै च्याम्पियन बनेको हो । 

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा जितका लागि २३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३.३ ओभरमा अलआउट हुँदै १०५ रनमा समेटिएको हो । म्याक्स ओडाउडले सर्वाधिक ३३ रन जोडे । साथै लोगन भान विकले २० रन, विक्रमजित सिंहले १३ रन जोडे भने अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । 

बलिङमा श्रीलंकाका स्पिनर महेश थिक्सेनाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, तीव्र गतिका बलरमा दिलशान मदुशानका र समान ३ तथा वानिन्दु हसरंगाले २ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलङ्का ४७ ओभर ५ बलमा २ सय ३३ रनमा अलआउट भयो । श्रीलङ्काका सहन अर्चचिगेले ५७, सदीरा समाराविक्रमाले ४३ र चरिथा असलंकाले ३६ रन बनाए । 

बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भान वीक, रायन क्लेन, विक्रमजित सिंह र सकिब जुल्फिकरले २/२ विकेट लिए ।

यो जितसँगै श्रीलङ्का १० टोली सहभागी यो प्रतियोगिताको च्याम्पियन बन्दै अक्टोबररनोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेको छ । नेदरल्यान्ड्स पनि उपविजेता बन्दै विश्वकप खेल्नेछ ।  

सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बङ्लादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए । प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर ५ तारिखमा इङ्ल्यान्ड र न्युजिल्यान्ड अहमदाबादमा खेल्नेछन् ।

Logo