#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1286383856805347990617496724
नेपाल167193882398442

थकाल्नी आमैको भट्टी !

  • दुर्गा पंगेनी

हामी स्याङ्जाली, हाम्रो जिल्लाको छातीको मध्यभागबाट आँधिखोलो बग्छ र आँधीखोलालाई समानान्तर काउन्टर दिँदै सिद्धार्थ राजमार्ग पनि तेर्सिएको छ पूर्व पश्चिम भएर । ठ्याक्कै कुभिन्डेदेखी राम्दीसम्म स्याङ्जालाई चिरेर दुइभाग बनाउन आँधीखोलासँग सहकार्य गरेको छ, सिद्धार्थ राजमार्गले ।

ट्रक गुड्छन्, बस गुड्छन्, साना सवारी साधन सबै गुड्छन्, यो बाटो अहिलेको व्यस्त व्यापारिक बाटो हो, चामलदेखी भैंसी सम्म र बाख्रोदेखी खसीसम्म यो राजमार्ग छेउछाउ किनबेच हुने गरेका छन् । राजमार्गको छेउछाउ ‘थकाली होटेल’ धेरै लोकप्रिय होटेल हुन् हाम्रो स्याङ्जामा, अहिले पनि ‘थकाली भान्छा घर’ नेपाल भरिनै भेटिन्छन् जहाँ परम्परागत नेपाली खानालाई निकै स्वादिष्ट बनाएर खुवाउने गरिन्छ ।

बुटवलबाट उकालो लागिसकेपछी कमै बजार थिए जहाँ थकाल्नीको भट्टी नभएको होस् । पाल्पा, आरेभञ्झ्यांग, राम्दी, गल्याङ , भकुन्डे, बयरघारी, हेलू, स्याङ्गजा पुत्लीखेत, नौडाँडा यी मुख्य स्थानहरू हुन् जहाँ खानाको लागि गाडी रोकिन्थे ।

थाकखोलाबाट व्यापारिक सिलसिलामा स्थान परिवर्तन गर्दै गर्दै आएर स्थायी रूपमा बसेका हरूलाई ‘थाकखोले’ भन्ने चलन छ । उनीहरूको थर कसैको गुरुङ हुन्छ, लामा इत्यादि पनि हुँदो हो तर एकमुष्ट उनीहरूलाई ‘थकाली’ भन्छन् हाम्रो तिर। कालान्तरमा थाकखोलासँग सरोकार भएको आँखा चिम्सा भएको मान्छे जो भए पनि थकाली भनिन थालियो।

अहिले ढिँडो लोकप्रिय खाना बनेको छ हाम्रो समाजमा । कुनै समय ढिँडो खानु भनेको गरिबीको अर्को नाम थियो । त्यही ढिँडोले अहिले सम्पन्नता झल्काउँछ। ढिँडोको ब्यवसायिक रूपमा व्यापार सुरु गराउने श्रेय पनि थाकखोलेहरूलाई नै जान्छ । गहुँ चामल उपलब्ध नभएर कोदोको ढिँडो खाने गरेका थाकखोलेहरूले त्यसैको व्यापार हिमालबाट तल झरेर गर्न थाले, अहिले ढिँडोले खाना व्यापारको राम्रो हिस्सा ओगटेको छ। पहाडमा मात्र होइन तराइका सहरहरूमा समेत थकाली भान्छा घरहरू लोकप्रिय छन् ।

बस रोकिएपछि यात्रुको पाखुरा समात्दै तानेर होटेल भित्र छिराउने र प्यारसँग खाना खुवाएर पैसा कमाउने परम्पराको सुरुवात गर्ने श्रेय समेत थाकखोल्नी आमै र भाउजूहरू लाई दिनुपर्छ । पहाडियाहरूले खोलेका होटेलमा पहिलो कुरा महिला नै हुँदैनथे त्यसमाथि ग्राहक बोलाउने मामलामा पहाडिया होटलवालीहरू अलि शर्मिला टाइपका हुन्थे ।

थाकखोलेहरूलाई त्यो किसिमको लाज सरम हुनुपर्ने केही रहेन । उनीहरू बाहिरबाट आएका कारण स्थानीयहरूले के भन्लान् भन्ने कुरासँग खासै सरोकार पनि नहुने । जसरी हुन्छ ग्राहक आउनुपर्यो , खाना बिक्नु पर्यो र व्यापार हुनुपर्यो । यो मामलामा थाकखोलेहरु निकै बाठा मान्नुपर्छ ।

सवारी साधनको आवत जावत बढेसँगै राजमार्गमा होटेल फस्टाउँदै गए । भैरहवाबाट पाल्पा वालिङ स्याङ्गजाहुँदै पोखरा पुग्ने सामान भरिएका ट्रकहरू लिएर आउने भारतीय ड्राइभर र अन्य यात्रीहरू खाना खानको लागि त्यस्तै थाक खोलेको होटेलको भर पर्न थाले । सिद्धार्थ राजमार्ग खुल्ने समयमा नेपाली ड्राइभरहरू त्यति थिएनन् रे । भारतीय पन्जाबी सरदारहरू ट्रक लिएर आउँथे रे ।

हाम्रो स्याङ्जाको वालिङलाई पहिला ‘भुम्रे’ भनिन्थ्यो रे, आँधी खोलो फनक्क घुमेर भुमरी पर्ने भएको कारण त्यो ठाउँको नाम भुम्रे रहन गएको होला । छोटो तरिकाले भन्दा ‘भुम्रे’ भनिएको हुनुपर्छ । माथि राजमार्गको छेउमा वालिङ बजार बस्न सुरु भएपछि भुम्रे ओझेल पर्यो । अहिले फेरी पर्वत जाने पुल त्यहाँ बनेपछि चम्केको छ भुम्रे । भुम्रे माथि छ भकुन्डे बजार । वालिङको इलाका प्रहरी कार्यालय त्यहीँ रहेको छ ।

सुरु सुरुमा बाहुनहरू थाक खोलेको होटेलमा खाना खाँदैनथे । उनीहरू यात्रामा निस्कँदा गन्तव्यसम्म पानी मात्र खान्थें या खानैपर्ने अवस्था भएमा ब्राह्मण को होटेल खोजेर खान्थे, कोही चोखो मानिएको रोटी तरकारी मात्र खान्थे । बाहुनले होटेलमा दालभात खानु भनेको अपराध सरह हुन्थ्यो रे त्यो समयमा । पैदल हिँडेर बटौली जाँदा आफैं पकाएर खाने गरेका बाहुनहरू समय क्रमसँगै होटेल छिर्न सक्ने हुँदै गएका थिए।

त्यसरी बाहुनहरूलाई होटेलको खाना प्रति आकर्षित गर्ने र बाहुनलाई धोती नफेरी ‘अचमन’ नगरी दालभात खान सिकाएको पनि थाकखोलेहरूले नै हो । भकुन्डेका थकाल्नीहरुले गाडीबाट झरेका यात्रुहरूलाई हातै समातेर आफ्ना होटेलतर्फ तान्न थालेदेखि बाहुनहरू त्यसरी मिठो मसिनो लुकेर खान पल्केका हुन् । राम्री चिटिक्क परेकी थकाल्नीले “खाना खान मेरोमा जाऊँ” भनेर हातै समातेर तान्दा बाहुनहरू मक्ख नपर्ने कुरै भएन।

हुँदाहुँदा थाकखोलेहरुको होटेल कतिसम्म चर्चित हुँदै गए भने झगडा गरेर श्रीमतीले खाना नखुवाएका बाहुनहरू ठुसुक्क परेर रिसाएकी श्रीमतीसँग धक्कु लगाउँथे, “तैँले खान नदिएर के भो ? धेरै नहेप, म थकाल्नीका भाँडा माझेर पनि ज्यान पालुँला” ।

थकाल्नीको भट्टी बेरोजगारहरूको आशा थियो, अन्य केही नभए त्यहि होटेलमा भाँडा माझेर पनि एक्लो ज्यान पाल्छु भन्ने हिम्मत थियो । लखेटिएकाहरूको रोजगार केन्द्र थियो ।

एक किसिमको बिजनेस केन्द्र, आर्थिक कारोबारको सेन्टर, थकाल्नी आमै पैसा वाली, सर सापट र ऐँचो पैँचो मा अगि सर्ने थकाल्नी आमैको लोग्ने भने कामकाजी हुन्थ्यो । ऊ कट्टु लगाएर नाङ्गो जिउ लिएर टेबुल टेबुल ग्राहकलाई भात तरकारी दाल या रक्सी थप्दै डुलिरहेको हुन्थ्यो। यस हिसाबमा थकाल्नी आमै घर मुली र थकाली बा कामकाजी देखिन्थे राजमार्ग छेउका भट्टी हरूमा। यतिसम्म भने हामीहरुले समेत स्कुले जीवनमा भकुन्डे बजारमा देखेकै कुरा हो ।

समय क्रमशः बदलिँदै गयो । थकाल्नी आमैहरू बुढी हुँदै गए, होटेलको कारोबार थकाली बा को हातमा चढ्दै गयो, अचेल भट्टीमा साहु बा देखिन्छन् साहुनी आमैको उपस्थिति पातलिँदै गयो ।

साहु बा परे पुरुष, उनले बोलाउँदा ग्राहक नआउने । आमैले या भाउजूहरूले बोलाउँदाको अवस्था नै अर्कै थियो। पसलमा भिड लाग्थ्यो।आमै पसलमा बस्न छोडिन, भाउजू दाइसँग अमेरिका तिर बसाइँ सरिन ।

एक दिन थकाल्नी आमै बिमारी परिन् । बाग्लुङ धनगढी नाईटबस हुँईकिएर आयो । भकुन्डेमा रोकियो । सहचालक भाइले ल तिस मिनेटमा खाना खाईसक्नुस भनेर उर्दी जारी गर्यो । यात्रु बसबाट ओर्लिए। ती यात्रुलाई भित्र लैजानलाई त्यहाँ थकाल्नी आमै थिईनन् । बाले बोलाए तर कोही आईदिएन् । अर्को टिपबाट गुरुजीले भकुन्डेमा खानाको लागि गाडी रोक्नै छोडे । यसरी भकुन्डेको थकाल्नीआमैको खाना पसल सुक्दै चाउरिँदै गयो ।

अहिले स्थानीय बाहुनहरूले नै थाकखोले होटेल जस्तै देखिने ‘थकाली भान्छा घर’ सुरु गरेका छन् तर अहिले त्यो मिठास भेटिन छाडेको छ ।

सम्बन्धित समाचारहरु