इक्यान निर्वाचनः १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता [नामावलीसहित]

इक्यान निर्वाचनः १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता [नामावलीसहित]


शैक्षिक परामर्श संस्थाहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परार्मश संघ (इक्यान)मा चुनावी माहोल सुरु भएको छ । इक्यानको निर्वाचन नजिकिएसँगै आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । दुई प्यानलसहित अध्यक्षका लागि बिहीबार चार जनाले उम्मेदवारी दिएका छन् । 

इक्यानको अध्यक्षका लागि विष्णुहरि पाण्डे, शेषराज भट्टराई, देवीदास भट्टराई र कृष्णहरि केसीले उम्मेदवारी घोषणा गरेका छन । चार जनाले उम्मेदवारी घोषणा गरेको भए पनि मुख्य प्रतिस्पर्धा विष्णुहरि पाण्डे र शेषराज भट्टराईबीच हुने देखिएको छ । १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको छ । 

गत पुसमा नै इक्यानको अधिवेशन सम्पन्न भइसकेको छ । निर्वाचन समितिका अनुसार १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको छ । तीन उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी दर्ता भएको हो । महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि २/२ जना र सचिवमा ५ जनाको उम्मेदवारी परेको छ । सचिव दुई जना रहने व्यवस्था छ । अध्यक्षलगायत ९ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । मतदाता संख्या भने ४ सय ६७ जना रहेकाछन । सदस्यतर्फ ९ जनाका लागि १९ जनाको मनोनयन दर्ता भएको छ । 

भट्टराई समूहबाट उपाध्यक्ष पदका लागि श्रीराम पौडेल, गीता सिवाकोटी (गीताञ्जली) र दयाराम थापाले उम्मेदवारी घोषणा गरेका छन । महासचिव पदका लागि दिपकराज भुषाल, सचिव पदका लागि भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्ष पदको लागि आशिक कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोखरेलले उम्मेदवारी घोषणा गरेका छन । यसबाहेक कार्यसमिति सदस्यमा भट्टराई समूहबाट गोविन्द खनाल, होमराज थापा, रमेश लुइँटेल, सुवर्ण बस्नेत, उमा खड्का पाठक, विजयकुमार बस्नेत, बसन्त पाण्डे, राजेश श्रेष्ठ र ई. मनोरथ साहले उम्मेदवारी घोषणा गरेका छन् । 

त्यस्तै पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णुहरिको समूहबाट उपाध्यक्षमा लक्ष्मण पौडेल, भुवनबहादुर क्षेत्री र प्रकाश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन । त्यसैगरि, महासचिवमा बासुदेव दाहाल, सचिवद्वयमा फिलिपकुमार डाँगी क्षेत्री तथा शिवप्रसाद त्रिपाठी, कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देल छन् । सदस्यका लागि भने आशीष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, शशीप्रसाद भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, शान्तकुमार शर्मा, श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने छन् । आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तभित्र एक लाख जनाले विदेशमा पढ्नको लागि नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) लिएका छन् । 

शनिबार हुने इक्यानको चुनाव चुनावमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग हुने र चुनाव सकिएको एक घण्टामै मतपरिणाम सार्वजनिक गरिने छ । 

Logo