भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु

भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु


भारतमा खोलाले बगाउँदा एक नेपालीको ज्यान गएको छ । रोल्पाको त्रिवेणी-४ चालढुंगा निवासी नरेश वलीको भारतमा खोलाले बगाउँदा मृत्यु भएको हो ।

खोलाले बगाउँदा ४७ वर्षीय वलीको असार २५ गते चन्डीगढमा मृत्यु भएको प्रहरीको भनाइ छ । बिदाको दिनमा आफन्तसहित चन्डीगढस्थित अमरावाती नदी किनारमा घुमघाम गर्न पुगेका बेला उक्त नदीको ड्याम खोलिँदा एक्कासी आएको बाढीले उनलाई बगाएको थियो । 

असार २५ गते बेलुकीको ५ बजेर ४० मिनेटतिर वलीलाई बगाएको थियो । साथमा घुम्न पुगेका साथीहरूले उनलाई बचाउने कोसिस गरेका थिए । नरेशका भाइ कविराज नदीमै हाम फालेर दाइलाई बचाउने प्रयास गरे पनि उनको प्रयास विफल भएको हो ।

नदीले २५ गते सोमबारका दिन बगाए पनि उनको शव दुई दिनपछि असार २७ गते बुधबारका दिन बेलुकी ६ बजे करिब ३५ किलोमिटर टाढाको मुबारकपुरमा फेला परेको थियो ।

मृतक वलीको शवको पोस्टमार्टम भने असार २९ गते भारतको पन्चुला सेक्टर ६ स्थित अस्पतालमा गरिएको थियो । भारतमा रहेका आफन्तले चन्डीगढकै मनिमाजरा हाउजिङ बोर्ड नजिक रहेको घाटमा दाहसंस्कार गरेका थिए । 

Logo