कुर्सी नछाड्ने प्रधानमन्त्रीका पाँच तर्क

कुर्सी नछाड्ने प्रधानमन्त्रीका पाँच तर्क


काठमाडौं ।

पार्टीमा देखिएको विवाद मिलाउन यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको विचमा दिनहुँ वार्ता भईरहेको छ । प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार र अन्य केही अधिकार दिएर मिलाउने पक्षमा ओली रहेका छन् तर एउटा पद जसरी पनि छाड्नु पर्ने मागबाट प्रचण्ड पछाडि हटेका छैनन् । उनीहरुको विचको घन्टौ वार्ताको विषयमा विभिन्न अड्कलवाजी भईरहेको छ । नेकपाका विभिन्न नेताहरुका अनुसार ओलीले कुनै पनि हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष नछाड्ने तर्क अगाडि सारेका छन् । प्रचण्डको मागमा ओलीका तर्कहरु यस प्रकार रहेका छन् ।

प्रधानमन्त्री पद – ओलीको तर्क : पार्टीले मलाई २०७४ सालको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो । मेरो नेतृत्वमा नै वाम गठवन्धनले वहुमत ल्याएको हो । त्यसैले पाँच वर्ष सरकार चलाउन मलाई जनताले म्यान्डेट दिएका हुन् । अर्काे निर्वाचनले मात्र मलाई विस्थापित गर्न सक्छ । त्यसैगरी मलाई संसदको दुई तिहाईले निर्वाचित गरेको हो । पार्टीको कुनै पनि कमिटीले होइन् । त्यसैले मैले राजीनामा दिने कुरै छैन ।

पार्टी अध्यक्ष – ओलीको तर्क : विगतमा भएका सहमति अनुसार म प्रचण्डलाई कार्यकारी अधिकार दिन तयार छु । लेखेर नै दिन तयार छु । तर पूर्णरुपमा पार्टी अध्यक्षबाट राजीनामा दिने विषय सोच्न सकिदैन किनभने मलाई पार्टीको महाधिवेशनले निर्वाचित गरेको हो । अर्काे महाधिवेशनले मात्र मलाई हटाउन सक्छ । हटाउने हो भने विशेष महाधिवेशन बोलाउने काम गर्नुस् । नत्र महाधिवेशनसम्म सहमतिको आधारमा अगाडी बढ्ने सहमति हो तर त्यसको उल्लंघन भयो । दुई अध्यक्षको कामलाई परिभाषित गरेर अगाडी जान सकिन्छ ।

विगतमा भएको सहमति – ओलीको तर्क : विगतमा हामी दुई जनाको विचमा सहमतिको आधारमा सरकार र पार्टी संचालन गर्ने सहमति भएको हो । त्यसैले कुनै पनि विषयमा निर्णय गर्नुभन्दा पहिला सहमति चाहिन्छ । महाधिवेशन नहुँदासम्म दुई अध्यक्षको सहमतिको आधारमा अगाडि बढ्ने भनिएको छ, त्यसैले एकल निर्णय हुँदैन् ।

स्थायी कमिटीमा वहुमत – ओलीको तर्क : प्रचण्डले ओलीसँगको वार्ताको क्रममा स्थायी कमिटीका वहुमत सदस्यले राजीनामा मागेको दावी गर्ने गरेका छन् । यसको जवाफमा उनले भन्ने गरेका छन् –पार्टी संचालन अल्पमत र वहुमतको आधारमा होइन, सहमतिको आधारमा गर्ने सहमति यस अगाडी बनेको हो । अल्पमत र वहुमत भन्नु विगतको सहमतिको उल्लंघन हो । वहुमतको आधारमा राष्ट्रपति र म विरुद्ध षडयन्त्रको प्रयास भयो ।

सरकारले काम गर्न सकेन – ओलीको तर्क : सरकारले काम गर्न नसकेको होइन, राम्रो गरेको छ तर पार्टीका केही नेताहरु नै त्यसको विपक्षमा उभिँदा सरकारको बढी आलोचना भयो । पार्टीको कारणले सरकार अप्ठ्यारोमा परेको हो । पार्टीका नेताहरुले नै सरकारको बारेमा नकारात्मक कुरा फैलाए । यसरी प्रचण्डले आग्रह गर्दा पनि ओली कुनै पनि हालतमा पद् छोडने पक्षमा छैनन् । स्थायी कमिटीका वहुमत सदस्यले राजीनामा गर्न वाध्य पार्ने डरले उनले वैठक सारिरहेका छन् । अर्काे वैठक शुक्रबार डाकिएको छ । तर सरकारको वारेमा कुनै पनि हालतमा स्थायी कमिटीलाई निर्णय गर्न नदिने पक्षमा ओली रहेका छन् । स्थायी कमिटीले निर्णय गरिहालेमा ओली केन्द्रीय समितिको वैठक बोलाउने पक्षमा रहेका छन् जुन तत्कालै सम्भव छैन ।

Logo