ग्वार्खाे ‘फ्लाई ओभरको डिजाइन’ पुनरावलोकन गरिँदै

ग्वार्खाे ‘फ्लाई ओभरको डिजाइन’ पुनरावलोकन गरिँदै


पुरानो ढाँचा अनुसार निर्माण गर्नका लागि आवश्यक उपकरण नपाइएपछि ग्वार्खाेस्थित फ्लाई ओभरमा ढाँचा पुनरावलोकन गरेर निर्माणअघि बढाइने भएको छ । पहिले प्रयोग गरिने भनिएको प्यानल (फल्याक) भारतमासमेत नपाइएपछि अहिले नेपालमा पाइने किसिमको प्यानल प्रयोग गरेर निर्माण गर्न लागिएको हो । 

पहिले ढाँचामा उल्लेख भएभन्दा फरक प्यानलको प्रयोग गर्नका लागि ढाँचासमीक्षा गर्नुपर्नेमा अहिले त्यसलाई अघि बढाइएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
 
फ्लाई ओभरका विभिन्न किसिमका काममध्ये जगको काम रोकिए पनि अरु काम भइइरहेको केन्द्रका इञ्जीनीयर रवीन्द्र श्रेष्ठले जानकारी दिए । फ्लाई ओभरको ‘प्यानल स्लाव’को काम निर्माणस्थलमा भइरहेको उनले बताए । वालको प्यानल स्लाब पहिले भूइँमा बनाएर जडानपछि जडान हुने गरी तयारी गरिएको छ । प्यानल फ्लाईओभर निर्माण भएको ठाउँ नजिकै ढलान भइरहेको उनले बताए । 

झण्डै दुई हजार चार सय ठूला प्यानल बनाउनुपर्ने केन्द्रले जनाएको छ । बनिसकेपछि क्रेनले उचालेर पुल बन्ने ठाउँमा लगेर राखिने उनले बताए । दैनिक २४ ढलान गर्न सकिने फर्मा निर्माण कम्पनीसँग रहेको छ । कहिलेकाहीँ एक दिन काम नभए पनि अर्काे दिन गरिँदै आएको इञ्जीनीयर श्रेष्ठले बताए । जम्मा दुई हजार चार सय बनाउनुपर्ने र त्यसका लागि बढी समय लाग्ने हुन्छ । उनले भने, “त्यसले बढी समय खाने हुँदा निरन्तर भइरहेको छ ।” 

ढाँचामा थोरै परिमार्जनका लागि निर्माण कम्पनीले प्रस्ताव गरेको उहाँले बताउनुभयो । पहिले निर्माण कम्पनीले थोरै सङ्ख्यामा गहिरोसँग पाइल राख्ने गरी डिजाइन पेस गरेको थियो । यसको लागि आवश्यक उपकरण नेपालमा नपाइने हुँदा उसले भारतमा खोजी गरेको थियो । भारतमा पनि त्यो पाउन नसकिएपछि अहिले फरक किसिमको पाइल प्रयोग गर्ने योजना बनाएको उनले बताए । 

पहिले थोरै सङ्ख्यामा गहिरो गर्ने उल्लेख भए पनि अब धेरै सङ्ख्यामा प्रयोग गरेर त्यसको लम्बाइ घटाउने गरी गर्न लागिएको इञ्जीनीयर श्रेष्ठले जानकारी दिए । पहिले एउटा साइडमा चार वटा पाइल राख्ने योजना भएकामा अहिले १२ पाइल गरेर लम्बाइ कम गर्ने गरी योजना बनाइएको उनले बताए । उनले भने, “त्यस्तो सामग्री नेपालमा पाइने हुँदा त्यसको प्रयोग गर्न लागिएको हो ।” 

ठेक्काको अवधि दुई वर्ष रहेको थियो । आगामी फागुनसम्म अवधि रहेको भए पनि अहिले निर्माण केही सुस्त रहेको छ । उनले भने, “निर्माण कम्पनीले सुरुका काम अलि ढिला हुने भए पनि अन्तिमका काम द्रुतगतिमा गरेर सकाउँछु भनेको छ ।” 

सुरुको तालिका अनुसार अहिले नै काम केही ढिला भइसकेको छ । अहिले ढाँचा पुनरावलोकन भएर आउँदा केही समय कुर्नुपर्ने भएको उनले बताए । निर्माण कम्पनीले अब बाँकी समयमा निर्माणको काम सम्पन्न गर्न सक्ने बताएको उनले बताए । उनले भने, “अझै पनि निर्माण कम्पनीले समयमा गरिसक्छु भनिरहेको छ ।”

फ्लाईओभर निर्माणका लागि सडक विभागाले गत मङ्सिर महिनादेखिबीचको लेन बन्द गरेको छ । बालकुमारी पुलबाट ग्वार्खाे चोकसम्म बीचको चार लेन बन्द गर्दा ग्वार्खाे चोकमा दैनिक जामको समस्या आइरहेको छ । सरकार आफैँले इपिसी (इञ्जीनीयरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) मा सम्झौता गरी ‘फ्लाईओभर’ निर्माण अघि बढाएको हो । 

यो ठेक्का प्रक्रियामा ‘डिजाइन एण्ड विल्ड’ का लागि गरिएको सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गरेको केन्द्रले जनाएको छ । ‘फ्लाईओभर’ को विसं २०७८ फागुनमा डिजाइन सुरु भएको थियो । सरकार आफैँले निर्माण गर्न लागेको पहिलो ‘फ्लाईओभर’ सरकार र निर्माण व्यवसायी दुबैका लागि नयाँ हो । अहिलेसम्म ‘फ्लाईओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको सडक विभागले बताउँदै आएको छ । 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाईओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाईओभर पुगिनेछ । त्यतातर्फ दुई सय ८० मिटर लामो  -याम’ हुने र सातादोबाटो तर्फ झर्न एक सय ७५ मिटर लम्बाइको ‘-याम’ हुने बताइएको छ । ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाईओभर’ को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारीसाधन पुल मुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन सिधैँ चल्ने बताइएको छ । 

यसको निर्माणका लागि आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो । यसको बजेट रु १७ करोड ६८ लाखमा रहेको छ । 

Skip This
Logo