विमानस्थलबाट बरामद गरिएको सुन लगियो टक्सारमा

विमानस्थलबाट बरामद गरिएको सुन लगियो टक्सारमा


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पुर्‍याइएको छ । विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरेको सुनको तौल यकिन गर्न बबरमहलस्थित टक्सार महाशाखामा पुर्‍याइएको हो । 

राजश्व अनुसन्धान कार्यालयका कर्मचारी र सशस्त्र प्रहरी बलले ८ वटा पोकामा १६० ढिक्का सुन नापजाँचका लागि महाशाखामा लगेकाे हो।

क्याथे फ्यासिफिकको उडानमार्फत हङकङबाट स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’मा लुकाएर ल्याइएको करिब एक क्विन्टल सुन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइए पछि बरामद भएको थियो । राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको हो । सुन तस्करीमा संलग्न रहेको आशंकामा रेडी ट्रेडर्स प्रालिका सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राईसहित रामकुमार भुजेल,हर्क राई,अशोक लामासहित पक्राउ परिसकेका छन्।  

भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिएको थियो । तर, उक्त जाँचपास शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर बा. २ ज २३२४ नम्बरको ट्याक्सीबाट बाहिरिएकालाई सिनामंगलमा समातिएका हुन् । उक्त तस्करी प्रकरणमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा पक्राउ गरिएको छ । अन्य २ जनाको नाम भने खुलाइएको छैन ।

यसैबीच विमानस्थल भन्सारबाट जाँच पासपछि सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ।

Logo