क्वीन्टल सुन प्रकरणमा हालसम्म को-को परे पक्राउ ?

क्वीन्टल सुन प्रकरणमा हालसम्म को-को परे पक्राउ ?


पछिल्लोसमय सय किलो सुन प्रकरणले देशमा एउटा ठूलो तरंग ल्याएको छ । त्यसो त सुन तस्करी नेपालका लागि नौलो घटना भने होइन । विगतमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सुन तस्करी हुँदै आइरहेको थियो । राजस्व अनुसन्धान विभागले मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास गरेर बाहिर पु-याइसकिएको करिब सय किलो सुन बरामद ग-यो । 

सुन बरामद भएसँगै सुन ओसार्ने काममा संलग्न भएको आशंकामा हालसम्म दुई विदेशी नागरिकसहित १० जना पक्राउ परेका छन् । 

को-को हुन् १० जना ?

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको जनाएको छ। उनीहरूमध्ये ६ जनालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ। पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभागको हिरासतमा राखिएको छ।

भोजपुरको अरुण गाउँपालिका–४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेलको रेडी ट्रेडमार्फत स्कुटरको ब्रेक सुको नाममा उक्त सुन भित्रिएको हो। 

हालसम्म पक्राउ पर्नेमा दिलिप भुजेल,दोलखा मेलुङ गाउँपालिका– ३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जेक्युयाङ लिन,कृष्ण श्रेष्ठ, ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र राजन श्रेष्ठ पक्राउ परेका छन् ।

त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ। यो प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै विभागले अनुसन्धान तीव्र पारेको छ।

Skip This
Logo