#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व65813830439486280141419
नेपाल5041

पुरुषत्वको पाखण्ड !

  • सुशीला भुसाल-

नन्दिता वास्तवमै सक्षम नारी हुन् । उनीलाई माया गर्ने अर्को पुरुष पनि त भेटियो होला ? के ऊसँग नन्दिताको मनको कनेक्सन मिल्या होला ? मन किन ईष्र्यालु भइरहेछ उनीप्रति ? जसरी मैले नारीलाई उपभोग्य वस्तु ठान्ने भूल गरेँ के त्यसरी नै नन्दिताले पनि ….? होइन होइन….कस्तो अस्पष्टता, कस्तो निराशा कस्तो छटपटी भइरहेछ आज ?
मैले आफूलाई पूजा गर्ने स्वास्नी खोजेँ रे । उसको देवता बन्न खोजेँ रे । नियन्त्रणमुखी र दमनकारी भएँ रे ।नन्दिता भन्थी, नारीहरूको बढ्दो आर्थिक आत्मनिर्भरताका कारण धेरै पुरुषहरूको अहंमा धक्का लागेको छ प्रताप ! आधुनिक प्रविधि प्रकृतिको विरुद्ध गएको मानेको छ पुरुष समुदायले । पुरुषलाई प्रकृतिले महिलाभन्दा अग्लो, बलियो र स्मार्ट बनाएको हो भन्ने भ्रमले वास्तविकताको दैलो बन्द गरिदिएको छ ।

विगतमा पुग्छु, कलेजका सबै विद्यार्थीहरूसँग दाँज्दा हामी दुवै सुन्दर थियौँ । उनी मभन्दा अलिकति बढी राम्री छन् भन्थे हामीलाई चिनेका मध्येका मिल्ने साथीहरू । मेरो विश्वास पनि यही थियो । औसतभन्दा माथिको बुद्धि, ईमान, तर्क र चेतनास्तर थियो हामी दुवैसँग । यसको पहिचान एकअर्कोमा हामी आफैले गरेका हौँ । हाम्रा यिनै समान खुबीका कारण हामी निकट भएका थियौँ ।

एकदिन उनले भनिन्– बिहे गरेर सम्बन्धमा वाँधिऔँ ।समर्थनमा मैले भित्रैदेखिको खुसी प्रकट गरेँ । हाम्रानिर्णयमा राजी हुन तयार भए दुवैतर्फका परिवार । उनकी आमा र मेरा बाले अलि बढी आश्वासन खोज्नुभयो । हामीले वलबुताले भ्याएसम्मका आश्वासन सहित निसन्देह समर्थनका लागि आग्रह गर्‍यौँ ।पार्टनर छनौटको योग्यताप्रतिको सुदृढ आत्मविश्वास देखायौँ ।

हामीबीच लोग्नेस्वास्नीको नाता कायम भयो । अव माया साट्नका लागि वैधानिक र कानुनी अधिकार प्राप्त भयो । पहिलाजस्तो भावना अभिव्यक्त गर्न एकान्त स्थान चाहिएन । कसैले के भन्ला भन्ने डर पनि रहेन । भावना अभिव्यक्तिका लागि जे गरेपनि जायज भएको थियो ।त्यसै गरियो ।
अब हामी दाम्पत्यरूपी साझा कम्पनीको साझेदार भएका थियौँ । यसको कानुनी अभिलेख पनि राखेका थियौँ । वडा कार्यालयमा विवाह दर्ता गरियो । घरका भित्तामा बडेमानका आलिंगनबद्ध तस्बिर पनि झुण्ड्याइयो । आफन्त, शुभचिन्तक र इष्टमित्रहरूलाई भोज खुवाएर बिहेको सार्वजनिकीकरण पनि गरियो ।

हाम्रो संयुक्त व्यक्तित्वले विवाहका प्रारम्भिक वर्षहरूमा खुसी र आनन्द उत्पादन गर्‍यो । हामी खुसी र आनन्दका मातापिता पनि बन्यौँ । यद्यपि केही वर्षपछि हाम्रो सम्बन्धमा रोक्नै नसक्ने गरी ब्रेक आयो ।सम्बन्धको जन्म मात्रै भएको थियो विकसित हुनै भ्याएको थिएन । ब्रेकका ब्लेमहरू साझा हुन थाले । हाम्रो सामुहिक बुध्धि खतरा उन्मुख हुन थाल्यो । दुवैले एकअर्काका कारण जीवनमा समस्या मात्रै आएको ठान्यौँ । जे सुविधाका लागि जोडिएका थियौँ ती सबै बिस्र्यौँ । न भविष्य हेरियो न विगत ।

नयाँ सम्वन्धमा एकअर्कालाई बुझ्नु पर्ने थियो तर आफ्नै चाहनालाई मात्रै ध्यान दियौँ । महत्व दियौँ ।सूचनामा भएका सबै आक्षेपहरू एक अर्काका विरुद्ध प्रहारमा ल्यायौँ । एक अर्कालाई असुविधा भएको बुझ्यौँ । हामी छुट्टियौँ । सात घण्टा लामो वैवाहिक कर्मकाण्ड पूरा गरेर गरिएको सहयात्राको प्रतिबद्धता आधा घण्टाको अदालती प्रक्रियाले विच्छेद गरिदियो । विवाहको निर्णय एकअर्काप्रतिको प्रेम, विश्वास र समर्पण भाव थियो तर छुट्टिने निर्णय यिनै चिजको अभाव । मायामा पागल भएर कसैसँग जोडिनु सजिलो रहेछ । कुनै प्रयत्न आवश्यक नपर्ने । तर अडिरहनु गा¥हो । धेरै काम गर्नुपर्ने मानिसको दिमागले ।

आपसीसम्मान, सहकार्य, समझदारी र क्षमाशीलता यिनै सवालहरूमा काम गर्न चुक्यौँ हामी । आफू मायामा नपरेका अरूमान्छेहरूलाई पनि त गरिन्छ माया । तर जोसँग मायामा परिन्छ त्यसैप्रति घृणा कसरी जन्मिन्छ । खोट मान्छेको आफ्नै चिन्तनमा छ । नन्दिता वा मेरो सोचमा छ । कस्ता भुत्ते दिमाग आफैसँग भएर पनि सही ठाउँमा प्रयोग नहुने । यस्तै लागिरहेछ आज ।

सायद हामी दुवैले सम्वन्धका समस्याहरू हटाउन चाहेको भए विवाह जीवितै रहँदो हो कि ?मैले त्यतिबेला उनी मबाट के चाहन्छिन् भनेर बुझ्न सकेको भए हाम्रो सम्बन्ध जीवनभरका लागि हुने थियोकि ।
नन्दिताले छुट्टिने निर्णयपूर्व भनेकी पनि थिइन्– म त्यतिन्जेल तिमीसँग बस्नेछु जति बेलासम्म तिमी मलाई माया गर्छौ, सम्मान गर्छौ, र मर्यादा दिन्छौ ।
मैले भनेँथेँ, पैसाविनाजीवन चल्दैन । मेरै कमाइले घर चल्छ ।

उसले जवाफ दिएकी थिई, पुरुष आफैंले पैसालाई आफ्नो उत्तरदायित्व बनाएको छ । किन समान अस्तित्वमा रहेर श्रीमतीले काम गरेको हेर्न सक्तैनन् पुरुषहरू?पैसाकै कारण मेरी आमा हजुरआमाहरू हेपिँदै आएका हुन् लोग्नेबाट । लोग्ने मानिसहरू पैसालाई शक्ति, आत्म सम्मान, सुविधा र सफलतासँग जोडेर रवाफ देखाउँदै आएकाछन् । प्रकृतिले आफूलाई ठूलो, बलियो र महत्वपूर्ण बनाएर पठाएको सम्झिँदै आएकाछन् । यसैको आधारमा आफ्नो मस्तिष्कलाई दमनकारी सूचना पठाएका छन् । तिनै गलत सूचनालाई जीवनभर सही मानेर भ्रममा आफू पनि दुःखी छन् र अरूलाई पनि दुःख दिएकाछन् ।

आज आएर सोच्दै छु । सँगै रहनु एकापसमा लाभदायक हुन्छ भन्ने कति छिटो बिर्सिन पुगिएछ । हैट् ! आखिर यसैका लागि जोडिएका थियौँ एकअर्कासँग । मिल्नै नसक्ने ध्रुव थियौँ भने कसरी जोडियौँ त ऊबेला ? कसरी हाम्रो आकार र बलको असमानताले हाम्रो सम्बन्धलाई प्रभावपार्न सक्छ ? मानिसहरूलाई शरीर विज्ञानले होइन सामाजिक विज्ञानले सम्बन्धमा बाँधिरहेछ । विवाहलाई पनि त सामाजिक सम्झौता भनिन्छ । कस्तो फिका मसीले सम्झौतामा हस्ताक्षर गरिएछ पाँचै वर्षमा सुक्नेगरी ? आधुनिक प्रविधिले महिलाहरूलाई आर्थिक रूपमा पुरुषहरू जत्तिकै बलिया हुने अवसर प्रदान गरेको छ । आजका महिलाहरू शिक्षित, स्वस्थ र व्यस्त छन् । बाँच्नकै लागि पुरुषप्रति आश्रित हुनुपर्ने अवस्था भएको भए पो सबै सहेर सम्बन्ध स्वीकार्थे होलान् त ?

आधुनिक समयमा महिलामाथि हुने धेरै हिंसा पुरुषआफै असुरक्षाको खतरामा परेका कारण वृद्धि भएको हो भन्थी नन्दिता । सहमतिजन्य यौन क्रियाकलापभन्दा बाहिर भएको सहवासलाई बलात्कार भनेकी थिई । कानुनले शक्ति दिएपछि मसँग किन डराउँदी हो त ?

महिलाहरू कति सशक्त भएकाछन् भने सबैकाम गर्ने अवसर पाएका छन् जुन तिनीहरू गर्न सक्छन्, सुनाउँथी ऊ। दुनियाँका सबै देशमा महिलालाई नेतृत्व जिम्मा लाउनेहो भने यो संसार मानवका लागि राम्रो वासस्थान हुने थियो । यसै भनेर बहस गर्थी ऊ मसँग ।

मांसपेशीको आकार प्रकारले दिमागलाई फरक पार्दैन । पुरुष हुँ भन्दैमा धेरै फरक ढंगले सोच्नु पनि पर्दैन । आखिर हामी दुवै ओछ्यानमा एकअर्काका अपरिहार्य मित्र हौँ, यही भन्थी उ ।यस्तो सुन्दा मेरो पारो तातेर आउँथ्यो ।
भौतिक आवश्यकताको परिपूर्तिका लागि पैसा आफै पनि कमाउन सक्छु । तिमी मलाई संवेगात्मक समर्थन गर र साथ देऊ । महिलाप्रति दरिद्र सोच राखेकाले देशमा गरिबी बढेको हो भन्थी ऊ ।
ऊधेरै बुझ्ने भएको मलाईभने रत्तिभर मन परेको थिएन ।

मैले एकदिन आवेशमा हात उठाउन खोजेथेँ । मेरो हात छेक्दै उसले भनेकी थिई प्रताप… तिमी मेरो मस्तिस्कको बाटो हिँडेर मुटुमा वास बस । म तिमीलाई त्यहीँ राख्न चाहन्छु । म जति नै सशक्त भए पनि तिमीविना अपूर्ण छु । आइमाईमाथि हात उठाउन त जसले पनि सक्छ तर मुटु छाम्न र धड्कन पढ्न सिक ।
मैले जवाफ दिएको थिएँ– श्रीमतिलाई कस्तो माया गर्नुपर्छ मैले बुझेको छु ।

जवाफबाट सन्तुष्ट भइन ऊ, तिमीले आफूले खोजेको कुरा पाउँदा मात्रै मलाई स्नेह दिन्छौ प्रताप । मैले तिमीलाई सहयोग र समर्थन गर्दा वा मेरो व्यक्तित्व तिम्रो रुचिको कसीभित्र हुँदा मात्रै प्रशंसा गर्छौै । कहिल्यै बुझ्ने चेष्टा गरेनौ कि एउटी नारी त्यसैका लागि मायाको हकदार ठान्छे वा प्रशंसित हुन चाहन्छे जे र जस्तो पूँजी ऊसँग छ र उसले गर्व महसुस गरेकी छ । पुरुषले दिने प्रेममा पनि पीडा लुकेको वा छोडिएको कुरा त एउटा नारीले नै महसुस गर्न सक्छे ।

मैँले भनेथेँ– तिमीजस्तो सुझबुझयुक्त नारीलाई चित्त बुझाउन गार्‍हो छ । कम पढेलेखेका र कम बुझेका नारीलाई आफूअनुकूलको व्यवहारले पनि रिझाएर काम लिन सकिन्छ । जान्नेबुझ्ने स्वास्नीको लोग्ने हुनु गा¥हो रहेछ ।
उसले भनेकी थिई, तिमी आफ्नै बुझाइका कारण दुःखी हुनेछौ । समय गुज्रेपछि मलाई बुझ्नेछौ । आफ्नो भाग्यलाई दुर्भाग्यमा परिणत नगर प्रताप । उसले संवेदनशील हुँदै भनिथी,पुरुष अहंले सच्चाइलाई थिच्न नदेऊ ।तिमीलाई उठाउन म तिमीसँग जोडिएकी हुँ । तिमीलाई खसाल्न होइन । केवल इमान्दारीपूर्वक मेरा रुचिहरूमा चासो देखाऊ र मलाई तिम्रो जीवनमा विशिष्ट स्थान देऊ । मलाई महत्वपूर्ण ठान ।

ऊ पहाडजस्ता अग्ला वाक्यहरू बोल्थी मसँग । सागरजस्ता गहिरा अनुभुतिको अपेक्षा राख्थी । र नदीजस्तो लामो विश्वासको माग गर्थी । प्रेमाभिव्यक्तिहरू सस्ता भएको भाव अभिव्यक्त पनि गर्थी । उसले कहाँबाट सोच्थी र के खोज्थी, मैले कहिल्यै बुझ्न सकिन ।

उसले अनुभूतिमै आफूलाई फकाइफुल्याई राख्न खोजेकी थिई भन्ने बल्ल बुझ्दै छुु । खुसीको सान्त्वना दिएर जिन्दगीलाई अल्मल्याउन खोज्थी भन्ने पनि अहिले वल्ल थाहा पाउँदै छु । कहिले त लाग्छ मेरै दिमागले विपरीत धार लिएकाले मेरो दाम्पत्य जीवन विफल भएको छ । उसका संवेदनासँग संयोजन मिलाउन के नै ठूलो कुरा थियो र ? उसप्रतिको वफादारीको मापनका लागि उसले तय गरेका आधारहरू मेरो योग्यताबाहिर पनि त थिएनन् ।केवल बाधक थियो त मभित्र विद्यमान पुरुषत्वको पाखण्ड !

सम्बन्धित समाचारहरु