‘देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले देखाएको बाटो उचित’ -ईश्वर पोखरेल

‘देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले देखाएको बाटो उचित’ -ईश्वर पोखरेल


नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलाल श्रेष्ठले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्न आवश्यक भएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औं ‘स्मृति दिवस’को उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै कार्यवाहक अध्यक्ष पोखरेलले पुष्पलाल बाम–लोकतान्त्रिक आन्दोलनको सहकार्यको सुत्रधार भएको उल्लेख गरेका छन् । 

उनले पुष्पलालको अगुवाईमा नेपाली समाजको तत्कालीन अवस्थाको गहिरो विश्लेषणका साथ नेपाली समाज र राजनीतिलाई मार्गनिर्देशन गर्ने विचारद्वारा निर्देशित संगठन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको बताए । 

कार्यवाहक अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको साँच्चीकै श्रेष्ठ योगदान हो । देशलाई समृद्ध र बलियो बनाउने साधन सही विचार बोकेको राजनीतिक पार्टी हो ।’ 

उनले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्नु आवश्यक भएको बताए । 

एमालेको सरकारले थालनी गरेका दूरगामी महत्वका काम जनताको साझा राष्ट्रिय उपलब्धिका रुपमा रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता परिपूर्तिको जीवनमूल्य समेटिएको ‘परिपूर्ण लोकतन्त्र’का रुपमा अघि सारेको पनि कार्यवाहक अध्यक्ष पाेखरेलले बताएका छन् ।

Logo