कसराबाट रिउसम्मको सडक मर्मत गरिँदै

कसराबाट रिउसम्मको सडक मर्मत गरिँदै


माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो  काम अगाडि बढाएको हो ।

सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए । उनले कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने बताए। 

हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो। निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ। “संघीय र प्रदेश सरकारबाट बजेट नपरेपछि आन्तरिक स्रोतबाटै सडक मर्मतको काम सुरु गरेका हौँ, नगरप्रमुख महतोले भने, “सडक मर्मतपश्चात नागरिकलाई केही सहजता हुनेछ।”

एक हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको प्रमुख उनले बताए। यो सडकखण्डको स्तरोन्नति र कालोपत्रेका लागि प्रत्येकपटक चुनावी नारा बन्छ। तर, यसको दीर्घकालीन समस्या समाधानका लागि ठोसरूपमा काम हुनसकेको छैन।

यहाँ सडक कालोपत्रेका लागि चितवन राष्ट्रिय निकुञ्जले बातावरणीय प्रभाव मूल्यांकन लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगरप्रमुख महतोले बताए। सडक निर्माणका लागि पटक–पटक संघीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ। यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदाहोर गर्ने गर्छन्। 

Logo